• १६ भदौ २०८१, आइतबार

नमुना सहर बन्दै कर्णालीका गाउँ

blog

दैलेखको राकम कर्णाली नयाँ सहर आयोजना निर्माणका लागि प्रस्तावित क्षेत्र । तस्बिर : रजनी योगी

रजनी योगी

सुर्खेत, भदौ १२ गते । कर्णाली प्रदेशभित्र विभिन्न स्थानमा नमुना सहरका रूपमा विकास गर्न काम सुरु गरिएको छ । ती स्थानहरूमा १३ वर्षअघि सुरु भएको नयाँ सहरको पूर्वाधार निर्माण भइरहेको छ । 

हिमाल तथा पहाडबाट तराईमा हुने बसाइँसराइ रोक्न आर्थिक वर्ष २०६७/६८ मा सरकारले ल्याएको योजना अन्तर्गत दैलेखको राकममा नयाँ सहर निर्माण थालिएको छ । त्यहाँ २०६८ सालदेखि कार्यालय स्थापना गरेर काम सुरु भएको हो । आयोजना निर्माणको हालसम्म ६५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ भने ६४ प्रतिशत वित्तीय प्रगति भएको छ । अहिले विभिन्न खण्डमा आयोजनाका लागि पूर्वाधार निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ ।

चालु आवमा तीन वटा ठेक्का सम्झौता गरेर काम अघि बढाउन लागिएको दैलेखको राकममा नयाँ सहर आयोजनाका इन्जिनियर प्रवेशराज लामिछानेले बताउनुभयो । त्यसका लागि अबको केही दिनमा ठेक्का आह्वान गर्न लागिएको उहाँले जानकारी दिनुभयो । नौ करोडमा तीन वटा छुट्टाछुट्टै ठेक्का सम्झौता गरिने जनाइएको छ । 

अगाडि बढ्दै भेरीगङ्गा

पूर्वी सुर्खेतको भेरीगङ्गा नयाँ सहरका रूपमा विकसित भइरहेको छ । अहिले गुणस्तरीय सडक, विद्युत्, बसपार्क, ढल निकास, सामुदायिक तथा एकीकृत भवनलगायतका संरचना निर्माणका काम धमाधम भइरहेका छन् । भेरी किनारमा आधुनिक सहर निर्माण योजनाको सुरुवात २०७३ सालमा भएको हो । सरकारले देशभर नै ४० आधुनिक सहर तथा व्यवस्थित बस्ती निर्माण गर्ने योजना अनुसार भेरीगङ्गा उपत्यकालाई नयाँ सहरका रूपमा अगाडि सारेको थियो । 

पूर्वी सुर्खेतका तीन वटा पालिका समेटेर आधुनिक सहर (स्मार्ट सिटी) बनाउने योजना यो वर्ष मात्र कार्यान्वयन हुने भएको छ । गत वर्ष बजेटको स्रोत सुनिश्चित नहुँदा काम सुरु हुन नसकेको नयाँ सहर आयोजना कार्यालयले जनाएको छ । 

भेरीगङ्गा, गुर्भाकोट र लेकबेँसी नगरपालिकालाई जोड्ने गरी भेरी किनारमा नमुना आधुनिक सहर बनाउन गुरुयोजना निर्माणको यो वर्षदेखि काम सुरु गरिने आयोजनाका सूचना अधिकारी बिना चाकतुले बताउनुभयो । 

चौरजहारीमा काम धमाधम

रुकुमपश्चिमको चौरजहारी बजार नयाँ सहरका रूपमा विकसित भइरहेको छ । पूर्वाधार निर्माणका काम धमाधम भइरहेका छन् । पहाडबाट तराईमा हुने बसाइँसराइ रोक्न आव २०६७/६८ सालबाट चौरजहारीलाई नयाँ सहरका रूपमा निर्माण गर्न सुरु गरिएको हो । २०७२ सालमा चौरजहारी नयाँ सहरको कार्यालय स्थापना गरेर काम सुरु भयो । नयाँ सहर आयोजनाले निर्माण गर्न सुरु गरेका योजनाको काम सम्पन्न हुँदै गएपछि चौरजहारी नयाँ सहरले मुहार फेर्न थालेको छ । अहिले विभिन्न खण्डमा काम भइरहेको आयोजना कार्यालय चौरजहारीका इन्जिनियर विष्णु शाहीले बताउनुभयो । 

अहिलेसम्म ५३ किलोमिटर सडकको ट्र्याक खोलिएको छ । ११ किलोमिटर सडक कालोपत्रे भएको छ । यसका साथै ५६५ वटा सौर्य बत्ती जडान, १३ वटा सामुदायिक भवन निर्माणको काम सम्पन्न भएको इन्जिनियर शाहीले बताउनुभयो । २० बर्से सहर निर्माणको योजना अन्तर्गत काम थालेको १३ वर्ष पुग्यो । 

‘नमुना सहर’ अन्योलमा

हिमाली नमुना सहर कार्यक्रम कार्यान्वयन अन्योलमा परेको छ । सरकारले चालु आवको बजेट, नीति तथा कार्यक्रमबाट सो कार्यक्रम हटाएपछि कार्यक्रम कार्यान्वयन अन्योलमा परेको हो । हिमालबाट तराईमा हुने बसाइँसराइ रोक्न आव २०७९/८० मा सरकारले हिल्सा र जुफालमा नयाँ सहर निर्माणको काम सुरु गरेको थियो ।

हुम्लाको नाम्खा गाउँपालिका–५ र ६ र  डोल्पाको ठुलीभेरी नगरपालिकाको जुफालमा ‘नयाँ हिमाली सहर’ निर्माणका लागि काम सुरु गरिएको थियो । कार्यक्रम कटौतीले योजनाको काम अघि बढ्न नसकेको सहरी तथा भवन निर्माण आयोजना जुम्लाले जनाएको छ । कार्यक्रम कटौतीले योजनाको काम ठप्प भएको कार्यालयका इन्जिनियर चन्द्रबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार सरकारले बजेट नीति तथा कार्यक्रमबाटै योजना हटाएको छ ।