• १६ भदौ २०८१, आइतबार

नेपालको अर्थोडक्स चियालाई विश्वभर चिनाउनु पर्छ : कृषिमन्त्री

blog

काठमाडौँ, भदौ १२ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्ने बताउनुभएको छ । 

नेपाली अर्थोडक्स चिया प्रदर्शनीलाई मङ्गलबार उद्घाटन गर्दै मन्त्री अधिकारीले नेपाली चियाको मुख्य बजार भारत हो तर भारत आफैँ चियाको ठुलो उत्पादक रहेकाले अब नेपाली चियाले भारतीय बजारको विकल्प खोज्नुपर्ने बताउनुभयो । भारत आफैँले चिया उत्पादन गर्ने भएकाले नेपाली चियाको उचित मूल्य नदिने भन्दै मन्त्री अधिकारीले नेपाली किसानको लागत पनि नउठ्ने भएकाले भारतीय बजारको विकल्प खोज्नुपर्ने कुरामा जोड दिनुभयो । 

आफ्नै देशमा उत्पादित चियाको उपभोगलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै उहाँले आफ्नै उपभोक्ता र बजार भएपछि किसानलाई मनोबल पनि बढ्ने बताउनुभयो । निजी क्षेत्रलाई चिया प्रशोधन र प्याकेजिङमा लगानी तथा प्रोत्साहन गर्न सरकार सदैव तयार रहेको बताउँदै उहाँले नेपालमा चिया अक्सन केन्द्रलाई सञ्चालनमा ल्याउन आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । 

उहाँले राष्ट्रिय चिया नीति, २०५७ मा आवश्यक संशोधन गरी चाँडै कार्यान्वयनमा ल्याउने प्रतिबद्धता पनि जनाउनुभयो । चिया नीतिलाई संशोधन गरी नेपालमा उत्पादन हुने चियाको प्रवर्धन गरिने बताउँदै उहाँले नेपालमा उत्पादन हुने चियालाई आन्तरिक र बाह्य बजारमा प्रवर्धन गर्न मन्त्रालयले काम गरिरहेको र त्यसको परिणाम चाँडै देखिने बताउनुभयो । नेपालको अर्थोडक्स चियालाई प्रवर्धन गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “नेपालको अर्थोडक्स चियालाई हाम्रो देश र विश्वभरि एक परिचित नाम बनाउन सबै मिलेर काम गर्नु पर्छ ।”

चिया प्रदर्शनी आयोजक समितिका सोनाम पाल्जोर लामाले नेपाली चियाको आन्तरिक र बाह्य बजार प्रवर्धन गराउने उद्देश्यले नै चिया प्रदर्शनी गरिएको बताउनुभयो । ठमेलमा आयोजना गरिएको प्रदर्शनीमा ५८ कम्पनीका १४० प्रकारका चिया राखिएका छन् ।