• १६ भदौ २०८१, आइतबार

शीतभण्डार प्रयोगविहीन भएपछि विकल्प खोज्दै नगरपालिका

blog

इलाम नगरपालिका–९ सेरामा रहेको शीतभण्डार जुन अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, भदौ ११ गते । १३ वर्षअघि इलाम सदरमुकाममा निर्माण सम्पन्न भएको शीतभण्डार प्रयोगविहीन भएपछि इलाम नगरपालिकाले शीतभण्डारमा के गर्ने भन्ने विकल्प खोज्न थालेको छ । 

भारतीय दूतावासको सहयोगमा कूल पाँच करोड ४९ लाख ६७ हजार ६ सय ४६ रुपियाँको लागतमा २०६८ चैतमा शीतभण्डार निर्माण सम्पन्न भएको थियो । शीतभण्डार निर्माण पूर्व सम्भाव्यता अध्ययन नगरिएकाले र एउटै मात्र कोठा (चेम्बर) निर्माण भएकाले सञ्चालनमा समस्या आएको जानकारहरू बताउँछन् ।

यति लामो समयसम्म शीतभण्डार चलाउन नसकिएपछि यो संरचनामा के गर्दा उपयुक्त होला भन्ने विकल्प खोज्न थालिएको इलाम नगरपालिकाकी उप–प्रमुख विष्णुकुमारी दाहालले बताउनुभयो । ‘अहिलेसम्म चलाउनै सकिएन अब यसमा के गर्दा ठिक होला, सबैसँग सल्लाह सुझाव माग्न थालेका छौँ । उपयुक्त काममा प्रयोगमा ल्याउन खोजिरहेका छौँ,’ उप–प्रमुख दाहालले भन्नुभयो । 

दुई हजार मेट्रिकटन क्षमता भएको शीतभण्डारलाई एक पटक ठेक्कामा लगाइए पनि सञ्चालन हुन नसकेको इलाम नगरपालिका इन्जिनियर दीपक गुरागाईँले बताउनुभयो । गुरागाईँका अनुसार शीत भण्डारमा जडान गरिएको बिजुलीलाई पाँच वर्षअघिनै काटिएको छ । "नगरपालिकाले पटक–पटक शीतभण्डार सञ्चालनका लागि पहल गरेको थियो, सञ्चालन गर्न पाँच–छ जना व्यक्तिहरू आउनु भएको पनि हो । कुराकानी भएपछि केही दिनमा आउँछौँ भनेर जानेहरू फेरि आउनु भएन । एक पटक सञ्चालन भएको थियो तर सञ्चालन कर्तालेनै चलाउनु भएन," गुरागाईँले भन्नुभयो, "शीतभण्डार सञ्चालन गर्न नगरपालिकाले पनि पाँचवर्ष सम्म निःशुल्क दिने, विद्युतको महसुल तिरिदिने लगायतका सर्त समेत अघि सारेको थियो । तर सञ्चालन हुनै सकेन ।" 

सुन्तला, किवी, आलु, उत्पादक कृषक, हरियो चिया उत्पादक कृषक र चिया सहकारी संस्था, जडिबुट्टी उत्पादक कृषक तथा स्थानीय तरकारी तथा फलफूल व्यवसायीलाई लक्षित गरी शीतभण्डार निर्माण गरिएको थियो । 

"प्रविधिक रूपमा शीतभण्डारको भवन गल्ती छैन तर भित्र एउटै चेम्बर भएकाले र कृषि उपजको सम्भाव्यता अध्ययन नभएकाले थोरै गल्ती भएको हुनसक्छ । त्यसलाई अझै सुधार गर्न भने सकिन्छ," इन्जिनियर गुरागाईँले भन्नुभयो, "तर, धेरै प्रयास गर्दा पनि सञ्चालन हुन सकेको छैन । संरचना चाहिँ राम्रै छ ।"

शीतभण्डार सञ्चालनमा नआएपछि अहिले त्यस संरचनामा नगरपालिकाले पाइप, पुराना सामग्री लगायतका थन्क्याएको छ ।