• १६ भदौ २०८१, आइतबार

महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक

blog

काठमाडौँ, भदौ ११ गते । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने आइसिसी महिला टी–२० विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ ।

आइसिसीले मङ्गलबार सार्वजनिक गरेको तालिका अनुसार उद्घाटन खेलमा बङ्गलादेश र स्कटल्यान्ड भिड्ने छन् । सोही दिन अर्को खेलमा पाकिस्तान र श्रीलङ्काबिच प्रतिस्पर्धा हुनेछ । उद्घाटनका दुवै खेल सारजाह क्रिकेट मैदानमा हुनेछ ।

अक्टोबर ३ देखि २० तारिखसम्म युएईको दुबई र सारजाहमा हुने विश्वकपमा १० टोलीको सहभागिता रहनेछ । विश्वकपमा खेलमध्ये दुबईमा १२ र सारजाह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ११ खेल हुनेछ । यसअघि बङ्गलादेशमा आयोजना तय भएको विश्वकप बङ्गलादेशमा चर्चिएको सरकार विरोधी आन्दोलनका कारण युएई सरेको हो । 

महिला विश्वकपको समूह ‘ए’ मा साबिक विजेता अस्ट्रेलिया, पाकिस्तान, भारत, न्युजिल्यान्ड र श्रीलङ्का तथा ‘बी’ मा दक्षिण अफ्रिका, इङ्गल्यान्ड, वेस्ट इन्डिज, बङ्गलादेश र स्कटल्यान्ड छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।