• १६ भदौ २०८१, आइतबार

नेपालगन्ज १० किमी रात्रीदौड हुने

blog

कमल खत्री

धम्बोझी, भदौ ११ गते । धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन प्रि–इभेन्टका रुपमा नेपालमै पहिलोपटक नेपालगन्ज १० किमी रात्रीदौड आयोजना गर्न लागिएको छ ।

नेपालगञ्ज रात्रीदौड आउँदो संविधान दिवस २०८१ असोज ३ गते बिहीबार राती हुनेछ । राती ९ बजे स्थानीय बीपीचोकबाट दौड सुरु हुनेछ । एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स)बाट प्रमाणीकरण रुटमा रात्रीकालीन दौड सञ्चालन गरिनेछ ।

नेपालगञ्ज म्याराथनको आयोजक क्रियटिभ ह्याण्डस्का प्रमुख टिएस ठकुरीका अनुसार धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई भव्य बनाउन अन्य विभिन्न १० इभेन्टसँगै रात्रीदौड आयोजना गर्न लागिएको हो । धारा नेपालगञ्ज म्याराथनको १० औँ संस्करण आउँदो २२ मङ्सिर, २०८१ शनिबार हुने घोषणा भइसकेको छ । १ भदौंदेखि खेलाडी दर्ता खुलिसकेको छ ।

पहिलोपटक आयोजना हुनलागेको हुँदा नाइट रनमा व्यवसायिक र कम्तिमा ५ किमी दौडको अनुभव भएका धावक–धाविकालाई मात्र सहभागी गराइने आयोजकको तयारी छ । पुरुष, महिला र भेट्रानतर्फ स्पर्धा गराइनेछ । १० किमी रात्रीदौडसँगै अन्यका लागि फन रनका रुपमा सहभागी गराइनेछ । पुरुष र महिलातर्फका शीर्ष तीन जनालाई क्रमशः नगद २५ हजार, १५ हजार र दश हजार नगदले पुरस्कृत गरिनेछ । 

भेट्रानतर्फ १५ हजार, १० हजार र ५ हजार नगद प्रदान गरिनेछ । दर्ता मिति यही भदौ १५ गतेदेखि २० गतेसम्म राखिएको छ । रात्रीकालीन दौड भिन्दै प्रकृतिको भएको हुँदा आयोजकले विशेष व्यवस्थापन, तयारी र सुरक्षा प्रबन्ध मिलाएको छ ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मङ्सिर २०६३ को स्मरणमा हरेक वर्ष मङ्सिरको पहिलो शनिबार हुँदै आएकोमा यस वर्ष कर्णालीमा बृहत् राष्ट्रिय खेलकुद परेकाले तीन मङ्सिर २२ गते शनिवार हुन लागेको हो ।

दशक लामो सशस्त्र द्वन्द्व विधिवत् अन्त्य भई देशले शान्ति, विकास र समृद्धिको बाटोमा यात्रा तय गरेको दिनको स्मरण गर्दै ५ मङ्सिरमा नेपालगन्जको बीपीचोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदै आएको छ । 

क्रिएटिभ ह्याण्ड्सको आयोजना एवम् क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको दशौं धारा नेपालगन्ज म्याराथनले एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्दै आएको छ ।