• १६ भदौ २०८१, आइतबार

प्रस्तावित राजदूतको सुनुवाइ भदौ १४ बाट हुने

blog

संसदीय सुनुवाइ समितिको मङ्गलबार सिंहदरबारमा बसेको बैठक । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौँ, भदौ ११ गते । विभिन्न देशका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया यही भदौ १४ गतेदेखि सुरु हुने भएको छ ।

मङ्गलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित १७ देशका राजदूतहरुमाथि परेको उजुरीसहितको सुनुवाइ भदौ १४ गतेबाट सुरु गरी भदौ १६, १७ , १८, १९, २०, २४ र २५ गतेगरी ८ दिनमा सम्पन्न गर्ने कार्ययोजना पारित गरेको हो ।

भदौ २१ गते तीज, २२ गते शनिबार र २३ गते पञ्चमीको बिदा परेकाले त्यसअघि र पछि गरी आठ दिनमा संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने कार्ययोजना तय गरिएको समितिका सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिनुभयो । उजुरी थोरै भएकाले सुनुवाइ प्रक्रिया छोटिन पनि सक्ने समितिको निष्कर्ष छ ।

‘‘आज हामीले राजदूत नियुक्ति प्रक्रियाअन्तर्गत उजुरीकर्ताहरुको उजुरी खोलेका छौं । अब सुनुवाइको प्रक्रियामा अघि जाँदैछौं । संसद् १३ गतेसम्म छ । त्यसैले १४ गतेदेखि निरन्तर गरौँ । पहिलो दिन हामीले चार जना राखेका छौं । यसलाई धेरै नलम्ब्याऔं । उहाँहरुको सुनुवाइ सकिनेबित्तिकै निर्णय गर्नुभन्दा अघि परराष्ट्र मन्त्रीज्यूसँग पनि छलफल गर्नेछौं ।’’, सभापति न्यौपानेले भन्नुभयो, ‘‘विभिन्न देशका लागि नेपाली राजदूतमा प्रस्तावित व्यक्तिको सिफारिसको सम्बन्धमा उजुरीकर्तालाई समितिसमक्ष उपस्थित गराई उजुरीको पुष्ट्याइँ र यसको औचित्य स्पष्ट पार्न लगाउने, प्रस्तावित व्यक्तिलाई आमन्त्रण गरी छलफल गर्नेलगायतका कार्यगरी सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने विषयमा संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रस्तावित कार्यतालिका परिमार्जनसहित पारित गरिएको घोषणा गर्दछु ।’’

समितिको आजको बैठकमा उजुरीकर्ताहरुको उजुरी खोली समितिका सदस्यहरुलाई वितरण समेत गरिएको छ । समितिको अर्को बैठक भदौ १४ गते बोलाइएको छ ।