• १६ भदौ २०८१, आइतबार

हिल्साको मितेरी पुलको निर्माण कार्य तीव्र

blog

हिल्सामा चीन सरकारद्वारा मितेरी पुलको निर्माण कार्य हुँदै । तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, भदौ ११ गते । नेपाल र चीनको सिमाना हिल्सामा चीन सरकारले निर्माण गर्न लागेको मितेरी पुलको निर्माण कार्य दैनिक तीन सिफ्टमा भइरहेको छ । चीन सरकारको लक्ष्य एक वर्षमा पुलको निर्माण कार्य सम्पन्न गर्ने भएपनि निर्धारित मितिभन्दा अगाडि सम्पन्न गर्न चौबीसै घण्टा निर्माण कार्य भइरहेको हो । 

एक महिनादेखि सिमा क्षेत्र हिल्सामा छिमेकी देश चीनले निर्माण गरिरहेकाे सशस्त्र प्रहरीको सिमा सुरक्षा चौकीका सशस्त्र प्रहरी निरीक्षक प्रमोद बिष्टले जानकारी दिनुभयो । उहाँले प्राविधिक सहितका एक सय जनाभन्दा बढी कामदारले दैनिक रातदिन काम गरिरहेको कारण पुलको भौतिक प्रगति पनि छोटो अवधिमा निक्कै अगाडि बढेको बताउनुभयो । 

यसमा मेसिनबाट पिलरको जग खन्ने र मोटरबाट नदीको पानी फाल्ने कार्य पनि हुँदैछ । उहाँले पुलका लागि आवश्यक पर्ने सबै प्रकारका कामहरु एकसाथ भएको बताउनुभयो । उहाँले चिनीयाँ निर्माण कम्पनी छ महिनामा पक्की पुलको निर्माण कार्य सकाएर सञ्चालनमा ल्याउने तयारी रहेको आफूसँगको कुराकानीमा निर्माण कम्पनी पक्षले बताएको जानकारी दिनुभयो । जब सो पुलको निर्माण कार्य एक वर्षमा गरिसक्ने गरि जिम्मेवारी निर्माण कम्पनीले पक्षले पाएको छ । 

पुलका लागि तीन वटा पिलरको जग खन्ने कार्य मेसिनले गरिरहेको छ । जुन पिलर एउटा नेपाली भूभाग, एउटा चिनीयाँ भूभाग र अर्को नदीको बिचमा निर्माण गर्ने गरि काम भइरहेको छ । बिचको पिलर निर्माणका लागि जग खन्नका लागि नदीको पानी अर्कोतर्फ सारिएको छ । पुलको माथि राखिने स्ल्याबहरु ताक्लाकोटबाट मसला बनाएर मेसिनमा ल्याई पुल निर्माण स्थलको नजिकै ढलान गरिएकाे छ । कामदार पनि सबै चिनीयाँ नागरिक नै छन् ।

पुलको निर्माण कार्य सम्पन्न भएपनि चीन सरकारकै लगानीमा नेपालतर्फको पुलको पिलरबाट पाँच सय मिटर सडक पनि निर्माण गरिनेछ ।