रेशम मार्ग (सिल्क रोड) को इतिहास प्राचीन चीनसँग जोडिएको छ । रेशम मार्गले चीनलाई युरोपसँग जोडेर व्यापारिक, सांस्कृतिक र सामाजिक आदानप्रदानमा महत्वपूर्ण भूमिका खेलेको थियो । रेशम मार्ग, चीन र युरोपबीचको व्यापारिक मार्ग त थियो नै साथसाथै यसले एसिया, अफ्रिका र युरोपका विभिन्न सभ्यतालाई एकापसमा जोड्ने पुलको काम पनि गर्यो । १५ सय वर्षभन्दा बढी समयसम्म, रेशम मार्गको नामले चिनिने मार्गहरूको सञ्जालले विभिन्न संस्कृतिबीच वस्तु र विचारको आदानप्रदानमा योगदान पुर्याएको थियो ।
पृष्ठभूमि
प्राचीन रेशम मार्ग चीनको हान वंश (इपू २०६–इसं २२०) को शासनकालदेखि अस्तित्वमा आएको थियो । तत्कालीन चीनले आफ्नो उत्पादन रेशमलाई पश्चिमी देशमा निर्यात गर्न थालेपछि यो मार्गको महत्व अझ बढ्न गयो ।
रेशम उत्पादन कार्य चीनले लामो समयसम्म गोप्य राखेको थियो । बाह्य विश्वलाई रेशमबारे थाहा नहुँदा चीनले त्यसको उत्पादनमा वृद्धि गर्दै पश्चिमी देशहरू (युरोपमा) मा निर्यात गर्दै आयो । त्यति बेला युरोपमा रेशम निकै लोकप्रिय थियो ।
युरोपेली बजारमा रेशमको माग निकै थियो तर युरोपलाई रेशम उत्पादन प्रक्रिया थाहा थिएन । त्यसैले चीनले आफूकहाँ उत्पादन हुने रेशम एकलौटी रूपमा युरोपमा निर्यात गरेर अर्थतन्त्र सुदृढ गरेको थियो । स्वदेशमा उत्पादित रेशम युरोपसम्म पुर्याएर आयआर्जन गर्न चीनले रेशम मार्ग विकास गरेको भन्न सकिन्छ ।
प्राचीन रेशम मार्ग अन्तर्गत वर्तमान मध्य एसियाली देशहरू अफगानिस्तान, कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तान व्यापारिक सञ्जालमा जोडिएका थिए । दक्षिण एसियाका नेपाल, भारत र पाकिस्तान पनि प्राचीन रेशम मार्गको सञ्जाल अन्तर्गत नै पर्दथे । यो मार्ग उल्लिखित मुलुकहरू हुँदै युरोपसम्म पुग्दथ्यो । रेशम मार्गको लम्बाइ चीनदेखि युरोपसम्म साढे छ हजार किलोमिटरभन्दा बढी थियो ।
प्राचीन रेशम मार्गले मध्य एसिया, पूर्वमा चीन र पश्चिममा युरोपका बजारलाई जोड्दै आर्थिक प्रगतिका साथै सांस्कृतिक र धार्मिक परम्पराहरूको अन्तरमिश्रणमा अहम् भूमिका निर्वाह गरेको भन्न सकिन्छ । साथसाथै यो मार्ग प्रारम्भिक विश्वव्यापीकरणको प्रस्थान विन्दु थियो ।
संरचना
रेशम मार्ग कुनै वास्तविक सडक वा एकल मार्ग भने थिएन । यो शब्दले युरोपेली र चिनियाँ व्यापारीले १५ सय वर्षभन्दा बढी समयसम्म प्रयोग गरेको मार्गको सञ्जाललाई जनाउँछ । जो हान वंशले १३० इसापूर्वमा व्यापार सुरु गरेको समयदेखि सन् १४५३ सम्म (ओट्टोमन साम्राज्यले पश्चिमसँगको व्यापार बन्द ग¥यो) को समयावधिलाई मानिन्छ ।
जर्मन भूगोलविद् र यात्री फर्डिनान्ड भोन रिकथोफेनले पहिलो पटक सन् १८७७ मा रेशम मार्ग शब्द प्रयोग गरेर युरोप र पूर्वी एसियाबीचको सामान आयात निर्यातका क्रममा प्रयोगमा आएका व्यापारिक मार्गलाई वर्णन गरेका थिए । यो शब्दलाई विभिन्न संस्कृतिबीचको सामान र विचारको आदानप्रदानका रूपमा पनि प्रयोग गर्ने गरिन्छ । व्यापारिक सञ्जाललाई भने रेशम मार्ग नै भन्ने गरिएको छ । यस मार्ग अन्तर्गत उत्तरी रेशम मार्ग, दक्षिणी रेशम मार्ग र समुद्री रेशम मार्ग पर्दथे ।
रेशम मार्ग अन्तर्गत विश्वका केही कठिन भूभाग जस्तै गोबी मरुभूमि र पामिर पठार पार गर्नु पथ्र्यो । यस मार्गले उत्तरमा गोबी मरुभूमि र तक्लामकान मरुभूमि पार गरेर चीनलाई मध्य एसियासँग जोड्थ्यो । दक्षिणी मार्ग तिब्बत, नेपाल र भारत हुँदै इरान र युरोपसम्म पुग्थ्यो । यो मार्ग नेपालको सिरानी अर्थात् हिमालयपारिबाट गुज्रन्थ्यो । नेपालको ताप्लेजुङको ओलाङचुङ्गोला, सङ्खुवासभाको किमाथाङ्का, सिन्धुपाल्चोकको कोदारी, रसुवाको केरुङ, मुस्ताङको कोराला, हुम्लाको हिल्सा, बझाङको उरै, दार्चुलाको लिपुलेक हुँदै जाने शाखा मार्गले रेशम मार्गलाई दक्षिण एसिया जोड्दथ्यो ।
त्यसै गरी समुद्री रेशम मार्ग चीनको दक्षिणी बन्दरगाहबाट सुरु भएर हिन्द महासागर पार गर्दै अफ्रिका र युरोपका विभिन्न बन्दरगाहमा पुग्थ्यो ।
तत्कालीन विश्व अहिलेको जस्तो राजनीतिक सीमारेखाको बन्धनमा थिएन । त्यसैले ती मार्ग कुनै देशको सरकारबाट संरक्षण, संवर्धन पनि हुँदैनथे । ती मार्गको अवस्था राम्रो हुँदैनथ्यो । यात्राका क्रममा सामान लुटिने, प्राकृतिक प्रकोप सामना गर्नुपर्ने जोखिम रहन्थ्यो । यात्री तथा व्यापारीको सुरक्षा पनि उत्तिकै चुनौतीपूर्ण हुन्थ्यो । बास बस्ने ठाउँको अभाव पनि रहन्थ्यो । व्यापारी र यात्री आफ्नो सुरक्षाका लागि उँट, घोडा आदि प्रयोग गर्थे ।
व्यापारिक वस्तु
रेशम मार्गमा व्यापार हुने प्रमुख वस्तु रेशम नै भए पनि अन्य बहुमूल्य वस्तु पनि यस मार्गबाट व्यापार गरिन्थ्यो । यस मार्ग अन्तर्गत चीनमा उत्पादित बहुमूल्य रेशम, मसला, जेड, कागज, बारुद, पोर्सिलिनलगायतका तयारी वस्तु युरोपेली बजारमा निर्यात गरिन्थे । युरोपबाट चीनले घोडा, ऊन, सुन, चाँदी, धातुजन्य वस्तु, अन्य बहुमूल्य धातु, सिसाका उत्पादन आदि आयात गथ्र्यो ।
धार्मिक–सांस्कृतिक आदानप्रदान
इतिहासमा रेशम मार्गको महत्वलाई मूल्याङ्कन गर्न गाह्रो छ किनभने रेशम मार्गले पूर्व र पश्चिमबीच आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक गतिविधि जोड्न मात्रै सहयोग गरेको थिएन यस अन्तर्गत विभिन्न रोग पनि एकअर्को स्थानमा सरेका थिए । तथापि यस मार्ग अन्तर्गत पर्ने कतिपय शहर पछि बहुसांस्कृतिक शहरमा परिणत हुन पुगे ।
सूचना आदानप्रदानका नयाँ प्रविधिको आविष्कार भए । युरोपबाट चीनमा भित्र्याइएका घोडाका कारण मङ्गोल साम्राज्यको शक्ति वृद्धिमा मद्दत पुग्न गयो । चीनबाट युरोप पुगेको बारुदले युरोपमा युद्धको स्वरूपलाई नै परिवर्तन ग¥यो । पूर्व–पश्चिमका खानाका परिकारसमेत एकअर्को देशमा पुगे । वर्तमान इटालीको लोकप्रिय खाना स्पागेटी (नुडल्स) चीनबाटै भित्रिएको थियो ।
रेशम मार्गको व्यापारिक महत्वका साथै ऐतिहासिक महत्व पनि उत्तिकै छ । यस मार्गले व्यापारका साथै अन्तर्राष्ट्रिय कूटनीति र शान्ति स्थापनामा पनि ठूलो योगदान पुर्याएको थियो । विभिन्न देश र सभ्यताबीचको आर्थिक तथा सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन रेशम मार्गले भूमिका खेल्यो । यस मार्गको सञ्जालमा जोडिएका मुलुकले एकआपसमा जोडिएर अन्तर्राष्ट्रिय सम्बन्धलाई बलियो बनाएका थिए ।
मार्को पोलोको चीन यात्रा
रेशम मार्गका प्रसिद्ध यात्रीमध्ये इटालीका व्यापारी एवं अन्वेषक मार्को पोलो (सन् १२५४–१३२४) एक थिए । पोलोले १३ औँ शताब्दीमा गरेको चीनको भ्रमणपछि त्यो युरोपेलीका लागि एसियाको विस्तृत विवरण प्रदान गर्ने प्रारम्भिक माध्यम बनेको थियो ।
सन् १२५४ तिर भेनिसको व्यापारिक परिवारमा जन्मेका पोलोका पिता निकोलो पोलो र काका माफेओ व्यापारी र अन्वेषक थिए । सोही कारण पोलोमा सानैदेखि व्यापार र अन्वेषणमा गहिरो प्रभाव परेको थियो । पोलोका बुवा र काकाले व्यापारको सिलसिलामा मध्यपूर्व र एसियामा यात्रा गरेका थिए । पछि मार्को पोलोले १७ वर्षको उमेरमा आफ्ना पितासँग चीन (तत्कालीन काथे) को यात्रा गरे । तीन वर्ष लामो यात्रापछि सन् १२७५ मा कुब्ला खानको दरबारमा उनी पुगेका थिए ।
मार्को पोलो पछि कुब्ला खानको दरबारमा बसे । उनले एसियाका अन्य भूभागको भ्रमणसमेत गरेका थिए । जुन भूभागमा त्यतिबेलासम्म कुनै युरोपेली पुगेका थिएनन् । चीन बसाइँबाट इटाली फर्केपछि मार्को पोलोले आफ्नो यात्रा वर्णनसहित ‘इल मेलोन’ अर्थात् ‘द ट्राभल्स अफ मार्को पोलो’ नामक पुस्तक लेखेका थिए ।
आधुनिक पुनर्जीवन
२१ औँ शताब्दीमा चीनले पुनः रेशम मार्ग पुनर्जीवनको प्रयास गरिरहेको छ । ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) नामक परियोजनामार्फत चीनले प्राचीन रेशम मार्गलाई आधुनिक युगमा पुनर्जीवित गर्ने कोसिस गरेको छ । यो परियोजनाले भौतिक, आर्थिक, र सांस्कृतिक आदानप्रदानको माध्यमलाई पुनस्र्थापित गर्दै विभिन्न देशबीचको सहयोगलाई प्रवाह गराउने उद्देश्य राखेको छ ।
चीनका राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा कजाकिस्तान भ्रमणका क्रममा पहिलो पटक बेल्ट एन्ड रोड इनिसिएटिभ अवधारणा अघि सारेका थिए । नयाँ रेशम मार्ग स्थल र जल मार्ग गरी दुई भागमा विभाजित छ । यी दुई मार्गलाई सुरुमा ‘वन बेल्ट, वन रोडको पहल’ भनिए पनि पछि बेल्ट एन्ड रोड इनिसिएटिभ नाम दिइएको छ ।
राष्ट्रपति सीले सन् २०१३ मा इन्डोनेसियामा आयोजित एसोसिएसन अफ साउथ इस्ट एसियन नेसन्स (आसियान) को शिखर सम्मेलनमा २१ औँ शताब्दीको समुद्री रेशम मार्गको अवधारणा अघि सारे ।
जस अन्तर्गत समुद्री व्यापारमा यातायात विस्तार, दक्षिणपूर्व एसियादेखि पूर्वी अफ्रिका र युरोपका केही भागसम्म हिन्द महासागरीय क्षेत्रमा समुद्री बन्दरगाह निर्माण गरिने भनियो ।
बिआरआई अन्तर्गत मध्य एसियामा अवस्थित पूर्वी सोभियत गणराज्य हुँदै युरोपसम्म पुग्ने तथा दक्षिणतर्फ पाकिस्तान, भारत र बाँकी दक्षिणपूर्वी एसियासम्म रेल मार्ग, ऊर्जा पाइपलाइन, सडक मार्गको सञ्जालमा जोड्ने योजना छ ।