• १६ भदौ २०८१, आइतबार

निसान पदमार्गको पहिचान अन्तिम चरणमा

blog

प्रेम अधिकारी

पशुपतिनगर, भदौ ११ गते  । इलाममा दुई सय वर्ष लामो इतिहास बोकेको निसान पदमार्ग पहिचान गरी कार्यान्वयनका लागि अन्तिम रूप दिइने तयारी भएको छ । 

नेपाल–अङ्ग्रेज युद्धपछि विक्रम संवत् १८७२ फागुन २० गते भएको सुगौली सन्धिपछि नेपाली सेनाले इलाम सदरमुकाममा निसान ल्याउन प्रयोग गरिएको मार्गलाई नेपाली सेनाको समन्वयमा स्थानीय पालिकाले पहिचान गरी कार्यान्वयनका लागि अन्तिम रूप दिने तयारी थालिएको हो । 

इलामको गढीथुम्कामा रहेको रणशार्दूल गणको पहलमा सूर्योदय नगरपालिका, इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाको पहलमा नेपाल–भारत सिमाना जोडिएको मेची नदीको मुहानदेखि इलामको निसान स्थापना गरिएको माईस्थान मन्दिरसम्मको ४१ किलोमिटर पदमार्गको पहिचान गरी कार्यान्वयनका लागि तीन वटै पालिकाको कार्यपालिका बैठकबाट अनुमोदन गर्न कार्यदलले पेस गरेको निसान पदमार्ग पहिचान कार्यदलका सदस्यसचिव खेमराज राईले जानकारी दिनुभयो । 

आइतबार सूर्योदय नगरपालिका, इलाम नगरपालिका, माईजोगमाई गाउँपालिका र नेपाली सेनासहितको प्रतिनिधिको बैठकले कार्यदलले पहिचान गरेको पदमार्गलाई केही परिवर्तन गरी पालिकाले अनुमोदन गर्ने गरी प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यदलका संयोजक टीकाराम सुब्बा लाप्चाको संयोजकत्वमा बसेको बैठकमा कार्यदलले भारतको नागरीगडीदेखि, नेपाल–भारत सीमा क्षेत्र सात माइल (मेची मुहान), सिद्धिखोला, गैरीगाउँ, रम्फोक, नयाँचोक, जोगमाईखोला, हात्तीटार, माईबेनी, तिल्केनी हुँदै माईस्थान मन्दिरसम्मको जिआइएस नक्सा तयार सार्वजनिक गरिएको थियो । कार्यदलका सदस्य तथा सूर्योदय नगरपालिकाका आर्किटेक इन्जिनियर सिर्जन गदालले ४१ किलोमिटर क्षेत्रमा तीन पालिकाका प्रतिनिधिले केही दिनअघि पैदल यात्रा गरी विभिन्न इतिहास खोजेर निसान पदमार्गको पहिचान गर्ने काम भएको जानकारी दिनुभयो । 

पदमार्गले सबैभन्दा बढी क्षेत्र सूर्योदय नगरपालिकामा ओगटेको छ । प्रतिवेदन अनुसार सूर्योदय नगरपालिकामा २६.१३ किलोमिटर, माईजोगमाई गाउँपालिकामा १०.७८ किलोमिटर र इलाम नगरपालिकामा ४.१९ किलोमिगर क्षेत्र ओगटेको कार्यदलका सदस्यसचिव राईले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ । भारतको नागरीगडीदेखि मेची मुहानसम्मको दुरी १६.५ किलोमिटर छ । नागरीगडीमा अझै पनि गढीमन्दिरलगायत ऐतिहासिक वस्तु रहेको अध्ययन टोलीले जनाएको छ । नेपालतर्फको पदमार्गलाई कार्यदलले नौै खण्डमा विभाजन गरेको छ । कार्यदलका संयोजक लाप्चाले गर्विलो इतिहास खोज्ने काम भएको बताउँदै इतिहास नमेटिने गरी पदमार्गको पहिचान गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दुई सय वर्ष पुरानो इतिहास भएकाले सबै कुरा थाहा पाउन निकै कठिन छ । पदमार्गको पहिचानले यहाँको पर्यटनमा अवश्य टेवा पुग्ने देखिन्छ ।” सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गाकुमार बरालले इतिहाससँग जोडिएको विषय भएकाले इतिहास नमेटिने गरी पदमार्ग निर्माण गर्नुपर्ने बताउनुभयो । उपप्रमुख बरालले भन्नुभयो,  “तत्कालीन समयमा गोर्खाली सेना फिर्ता भएको पदमार्ग भएकाले त्यतिबेलाका गोरेटो बाटोको पहिचान गरेर कायम गर्ने काम गर्नु पर्छ ।”

कार्यदलले प्रतिवेदनमा यही स्थानमा गोरेटो बाटोको नमुनासमेत नरहेकाले तीन वटै पालिकाले आफ्नो कार्यक्षेत्रभित्र तत्काल पदमार्गको संरचना निर्माण गर्न सुझाव दिएको छ । कार्यदलले तीन वटै पालिकाका विभिन्न स्थानमा साइन बोर्ड राख्ने समेत निर्णय गरेको छ । रणशार्दूल गण इलामका सेनानी कुमार लम्सालले इतिहास राखेर पदमार्ग निर्माण गर्दै त्यसको स्तर वृद्धि गर्नुपर्ने बताउनुभयो । सेनानी लम्सालले भन्नुभयो, “भविष्यमा यो पदमार्ग पर्यटकीय गन्तव्य बनी व्यावसायिक बन्ने देखिन्छ जसका लागि पालिकाले बढी दायित्व वहन गर्नु पर्छ ।”

सम्पूर्ण कामलाई अन्तिम रूप दिएर आगामी विजयादशमीको घटस्थापनाका दिन पदमार्गको उद्घाटन गरिने रणशार्दूल गण इलामका गणपति प्रह्लाद घलेले जानकारी दिनुभयो । नेपाली सेनाले आउँदो असोज १ गतेबाटै उक्त मार्गमा पैदल यात्राको काम थाल्ने भएको छ । तत्कालीन माओवादी द्वन्द्वकालमा काठमाडौँ लगिएको निसान केही वर्ष नेपाली सेनाको पहलमा इलामको माईस्थान मन्दिरमा ल्याएर राखिएको थियो । 

तत्कालीन नेपाल–अङ्ग्रेज युद्धपछि विसं १८७२ फागुन २० मा भएको सुगौली सन्धिले पूर्वमा मेची नदीलाई नेपाल–भारत सीमा कायम भयो । त्यसपछि मिरिकस्थित नागरीगढीमा रहेको श्रीनाथ सिंह पल्टन अहिलेको सूर्योदय नगरपालिकाको पूर्णेडाँडामा आएर बसेको इतिहास छ । मेचीदेखि नागरीगढी हुँदै टिस्टासम्मको भूभाग ४० दिनभित्र गढी खाली गर्न सम्झौता भयो । सम्झौता कार्यान्वयन गर्दै सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम पूर्णेडाँडा ल्याउनुभएको इतिहास छ । पूर्णेडाँडा भारतीय सीमानजिक भएको र अङ्ग्रेजले जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले मुकाम खडा गर्ने क्रममा माईजोगमाई गाउँपालिकाको नामसालिङस्थित हात्तीटार हुँदै श्रीनाथ सिंह पल्टन इलाम नगरपालिका–७ स्थित माईस्थान मन्दिर ल्याइएको थियो । माईस्थान मन्दिर विसं १८८० सालमा स्थापना भएको अनुमान छ । हाल निसान उक्त मन्दिरमा संरक्षण गरी राखिएको छ ।