• १६ भदौ २०८१, आइतबार

पर्यटकीय क्षेत्र विकास गर्दै रोसी

blog

काभ्रेपलाञ्चोकको रोसी गाउँपालिका–३ मा रहेको ताराखसे पोखरी (कुण्ड) ।

बनेपा समाचारदाता

बनेपा, भदौ १० गते । काभ्रेपलाञ्चोकको रोसी गाउँपालिकाले गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको प्रवर्धन तथा विकासलाई प्राथमिकता दिइएको छ । गाउँपालिकाले पालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको पहिचान, प्रवर्धन तथा विकासका लागि विभिन्न संरचना निर्माणको कामलाई प्राथमिकता दिएको हो । 

विगतका वर्षमा तीनधारे झरनालगायत पर्यटकीय क्षेत्रको प्रवर्धन र प्रचारप्रसारको काम गर्दै आएको गाउँपालिकाले पछिल्लो समय वडा नं. ३ स्थित ताराखसे लेकलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न विभिन्न भौतिक पूर्वाधार निर्माण गरेको छ । गाउँपालिकाका अध्यक्ष दिनेश लामाले सङ्घीय सरकारको विशेष अनुदानमा ताराखसे हात्ती आहाल पर्यटन क्षेत्र प्रवर्धन तथा संरक्षणका लागि काम गरेको बताउनुभयो । उहाँले सङ्घीय सरकारको एक करोड रुपियाँबाट ताराखसे हात्ती आहाल (पोखरी) को वरिपरि छेकबार, ढुङ्गा बिछ्याउने, सिँढी निर्माण, प्रतीक्षालय निर्माण, आवासगृह, खानेपानी व्यवस्थापन र शौचालय निर्माणको काम गरेको बताउनुभयो । 

“ताराखसे लेकसम्म आउनका लागि हिउँद, वर्षायाममा सवारी चल्ने खालको सडक आवश्यक छ, पालिकासँग त्यस्तो सडक निर्माण गर्न पर्याप्त बजेट नभएकाले प्रदेश सरकार र सङ्घीय सरकारसँग समन्वय तथा सहयोगको लागि पहल गर्ने छौँ,” गाउँपालिका अध्यक्ष लामाले भन्नुभयो । 

उहाँले ऐतिहासिक महŒव बोकेको ताराखसे लेक ओझेलामा परेपछि उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन गत वर्षको जनैपूर्णिमाको दिनमा गाउँपालिकाको टोली उक्त क्षेत्रमा गई स्थानीयवासीसँग छलफल गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आवश्यक पर्ने पूर्वाधार निर्माण गर्ने काम गरेको बताउनुभयो । उहाँले गाउँपालिकाले ताराखसे लेकका साथै तीनधारे झरनाको वाल्टिङको चैतेपानी, भुमेचुलीडाँडाको पर्यटकीय विकासका लागि योजना अघि सारेको भन्दै चालु आवमा पछिल्लो समय चर्चित बनेको तीनधारे झरना आसपास भौतिक पूर्वाधार निर्माणका लागि ५० लाख रुपियाँ बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले वाल्टिङस्थित चैतेपानीमा आगामी दुई वर्षपछि अर्थात् २०८३ सालमा १२ बर्से गोदावरी मेला लाग्ने बताउँदै मन्दिर, बाटोलगायतका विभिन्न भौतिक संरचना निर्माणका लागि योजना अघि सारेको र भुमेचुलीडाँडामा रहेको दर्शनटुप्पो परिसरमा पार्किङ स्थललगायतको संरचना निर्माण गर्नुपर्ने बताउनुभयो । 

गाउँपालिकाका अध्यक्ष लामाले गाउँपालिकाले ‘रोसीको दृष्टि, पर्यटन र कृषि’ भन्ने मूल नारालाई पूरा गर्ने योजना अघि बढाउँदै आएको बताउनुभयो । रोसी गाउँपालिकाभित्र ताराखसे, आहाले लेक, तीनधारे झरना, घ्याङ लेकलगायतका १३ वटा प्रमुख पर्यटकीय स्थल र ताराखसे लेक, हात्ती आहाल, सीतापाइला, मङ्गलटार बजार पर्यटकीय एवं ऐतिहासिक स्थलका रूपमा रहेको गाउँपालिकाले जनाएको छ । 


तस्बिरहरू....................

१. काभ्रेपलाञ्चोकको रोसी गाउँपालिका–२, काफलडाँडास्थित तीनधारे झरना । 

फाइल तस्बिर : केदार तिमल्सिना 

२.  

तस्बिर सौजन्य : नगेन्द्र अधिकारी