• २२ पुस २०८१, सोमबार

ताप्लेजुङमा ९८ प्रतिशत रोपाइँ

blog

धान रोप्दै मिक्वाखोला गाउँपालिका, खोक्लिङका किसान । तस्बिर ः चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ ८ गते । हिमाली जिल्ला ताप्लेजुङमा यस वर्ष अन्ठानब्बे प्रतिशत बढी धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार यस वर्ष जिल्लामा ९८ दशमलव ५ प्रतिशत रोपाइँ भएको हो । 

ताप्लेजुङमा जेठ महिनादेखि नै रोपाइँ सुरु हुने गर्दछ । करिब जेठको दोस्रो सातापछि सुरु भएर साउन मसान्तसम्म नै रोपाइँ हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी शशीकुमार सिंहका अनुसार साउन मसान्त सम्ममा ९८.५ प्रतिशत रोपाइँ भएको हो । 

जिल्लामा धान बालीका लागि खेतीयोग्य जमिन पाँच हजार ६६६.३ हेक्टर क्षेत्रफल रहेको र उक्त क्षेत्रफलमध्ये पाँच हजार ५८१.३१ प्रतिशतमा रोपाइँ भएको सूचना अधिकारी सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष पर्याप्त पानी परेको भए पनि किसानले ढिलो गरी रोपाइँ सुरु गरेका थिए ।

मकै बाली लगाउने मौसममा वर्षा नहुँदा मकै खेती गर्न केही ढिलो भएको र मकै खेतीका कारण धान खेती लगाउनलाई पनि ढिलो भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख सन्तोष थापा मगरका अनुसार १५ असार सम्ममा २९ प्रतिशत मात्र धान रोपाइँ भएको थियो । असार तेस्रो सातापछि मात्र जिल्लामा बढी रोपाइँ भएको केन्द्र प्रमुख थापामगरले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाको माथिल्लो क्षेत्रमा समयमै रोपाइँ भए पनि तल्लो बेँसी तथा औल क्षेत्रमा केही ढिलो गरी रोपाइँ भएको हो । सबैभन्दा बढी साउन महिनामा रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । साउन मसान्तसम्म नै भएको रोपाइँपछि सिँचाइका लागि पानीको अभाव नभएमा धान उत्पादन राम्रो हुने कृषि ज्ञान केन्द्रले अनुमान लगाएको छ ।

यता जिल्लाका अधिकांश किसानले बेलगुटी, भँगेरे, अट्टेजस्ता पुरानो रैथाने तथा स्थानीय जातको धान बाली लगाउने गरेका छन् । सीमित किसानले भने खुमल–४, खुमल–१० जस्ता उन्नत जातको धान खेती गर्दै आएका पनि कृषि केन्द्रका सूचना अधिकारी सिंहले जनाएको दिनुभयो ।