‘गौरा’ शब्द संस्कृत साहित्यको ‘गौरी’ शब्दबाट अपभ्रंश हुँदै उत्पन्न भएको हो । हिन्दु धार्मिक ग्रन्थमा माता पार्वतीको सुन्दर स्वरूपको रूपमा गौरीको वर्णन गरेको पाइन्छ । यस पर्वमा विशेष गरेर माता पार्वतीले भगवान् शिवलाई पति पाउन गरेको ध्यान, तपस्यालगायत स्थानीय मौलिकतामा आधारित शिव शक्तिको मिलनको कथा गौरा गीतमा वर्णन गरिएको छ । सतीदेवीले यज्ञकुण्डमा आत्मदाह गरेपछि भगवान् शिवले भावविह्वल भई सतीदेवीको शवलाई बोकेर संसारको भ्रमण गर्ने क्रममा सतीदेवीका अङ्ग पतन भएको ठाउँमा शक्तिपीठ र भगवान् शिवले विश्राम गरेको ठाउँमा शिवालय उत्पन्न भएको देखिन्छ । गौरा गीतले उनै सतीदेवीले हिमालय पर्वतको घरमा मैना देवीको गर्भवाट माता पार्वतीको रूपमा जन्म लिएको र मैनादेवीको गर्भबाट जन्मेकी ती कन्याले जन्मेदेखि भगवान शिवलाई प्राप्त गरुञ्जेलसम्म भएका घटना प्रसङ्ग र त्यसमा भगवान् शिवले निभाएका भूमिकाको वर्णन गरेको पाइन्छ । गौरा गीतमा गायन तथा नृत्य दुवै विधाको प्रयोग गरेको पाइन्छ ।
गौरा पर्व विशेष रूपमा भाद्र शुक्ल अष्टमीमा मनाइने पर्व भए पनि विशेष परिस्थितिमा कहिलेकाहीँ यो पर्व भाद्र कृष्ण पक्ष वा श्रावण शुक्लपक्षमा समेत मनाउने गरिन्छ । यस्तो विशेष परिस्थिति अगस्ती ताराको उदय र सूर्यको कन्या राशिमा प्रवेशसँग जोडिएको छ । अगस्ती उदय हुनुभन्दा अगाडि भाद्र शुक्ल अष्टमी प¥यो भने भाद्र शुक्ल अष्टमीमा पर्व मनाइन्छ । भाद्र शुक्ल अष्टमीअगावै अगस्ती उदय भएमा भाद्र कृष्ण अष्टमीमा गौरा मानाउने चलन छ । मलमासका कारण तिथि अगाडि पछाडि भइरहने हुँदा भाद्र महिनामा मलमास परेमा यो पर्व श्रवण महिनामा पनि मनाइने गरिन्छ । यसरी शुक्ल पक्षमा परेको गौरालाई ‘शुकेली गौरा’ र कृष्ण पक्षमा पर्न गएको गौरालाई ‘अन्यारी गौरा’ दुई किसिमले गौरालाई विभाजन गरेको पाइन्छ । असोज महिनामा सूर्य कन्या राशिमा प्रवेश गरी सक्ने हुनाले उक्त महिनामा यो पर्व मनाउन नहुने चलन छ ।
गौरा पर्व मनाउन सर्वप्रथम गौरा भित्र्याउने चलन छ । यो कार्य साँझ परेपछि मात्र गर्ने गरिन्छ । गौरा भित्र्याउने कार्यमा पनि ठाउँ विशेषका फरक फरक चलन छन् । कुनै ठाउँमा गाउँका कन्या मिलेर पञ्चैबाजा बजाई गौरा भित्र्याउने गरिन्छ भने कुनै ठाउँमा मन्दिरका कर्मचारी भरणे वा कुनै ठाउँमा जातविशेष समेतलाई परम्परा अनुसार यो जिम्मेवारी दिइएको पाइन्छ । सप्तमीका दिन गौरा भित्र्याउन धान, जौ, तिल, गौरीघाँस, बल, गुफोलगायतका बिरुवाको प्रयोग गरिन्छ । यी सामग्रीलाई निङ्गालोबाट बनेको गौरीडालोमा राखी गौराको मूर्ति स्थापना गरिन्छ । यस दिन माता गौराको प्रिय वस्त्रका रूपमा पिछौरा ओढाइने विशेष किसिमको मालाको पहिरनसहित शृङ्गार तथा सौन्दर्यका सामग्री मातालाई समेत चढाउने चलन रहिआएको छ । गौरालाई दाह्रिम, सुन्तला, मौसमीलगायतका ऋतुफल समेत डालोमा चढाउने चलन छ ।
महेश्वरको स्थापना भने पिर्को आकारको पवित्र काठमा भगुवा रङ्गको कपडाले सिँगारेर गरिन्छ । यसरी सप्तमीको राति गौरा महेश्वरको स्थापना गरी गौरा मगेश्वरको विवाह उत्सवमा सहभागी हुन व्रतालु महिलाका साथसाथै स्थानीय देवीदेवताका धामी, मन्दिरका पुजारी, भरणे, मुखियालगायत गाउँका अग्रज व्यक्तिसमेत व्रत बसी गौरा महेश्वरको विवाह महोत्सवमा सहभागी हुने गर्छन् । यसै दिन व्रतालु महिलाले सप्तम्या र दुब्धाको फेर्ने तथा नव व्रतालु महिलाले समेत कुल पुरोहित वा घरको वरिष्ठ महिला सदस्यबाट वेद मन्त्रको दीक्षा लिई सप्तम्या र दुब्धाको ग्रहण गर्ने चलन छ । यस क्षेत्रमा महिलाका लागि दुब्धाको र सप्तम्या लगाउनुको विशेष महत्व हुनुका साथै विवाहित महिलाले बिहान, दिउँसो र साँझ गरी दिनको तीन पटक दुब्धाको र सप्तम्या पुजनसहित वेदको मन्त्रद्वारा भगवान्को आराधना गर्नु अनिवार्य छ ।
हिन्दु पुरुषहरूको यज्ञोपवित संस्कार जस्तै यस क्षेत्रका विवाहित महिलाले अनिवार्य रूपमा पवित्र सप्तम्या र दुब्धाको लगाउनु पर्ने नियम छ । महिलाले पहिलो पटक गौरा व्रतको उपासना गर्दा शुक्ल पक्षमा परेको गौरा पर्वबाट व्रत आरम्भ गर्ने चलन छ । शुक्लपक्षमा परेको गौरालाई उज्याली गौरा तथा कृष्ण पक्षमा परेको गौरालाई अन्यारी गौरासमेत भन्ने गरिन्छ । यसरी शुक्ल पक्ष तथा तिज पर्वसमेतको आधार हेरी पहिलो पटक गौरा व्रत उपसना गर्न उपयुक्त हुने गौरा पर्वलाई फल्याली गौरा भनिन्छ । यस्तो गौरापर्वबाट व्रत आरम्भ गर्नाले पति पत्नीबिच प्रेम सम्बन्ध अझ प्रगाढ हुने र सौभाग्य प्राप्त भई जीवन सुखमय हुने भन्ने जनविश्वास छ ।
अष्टमीको अघिल्लो दिनको साँझ विधि विधान र गौरा गितसहित गौरा महेश्वरको विवाह गरी भित्री गौरा मनाइसकेपछि हरेकले आआफ्नो घरमा मिष्टान्न तथा विभिन्न पकवान पकाइन्छ । भोलिपल्ट उक्त भोजनमा जुठो परेमा पर्व मनाउने नमिल्ने तथा दीनदुःखीलाई समेत बाँडी खुसियाली मनाउने चलन छ । यो पर्वलाई समुदायमा प्रेम सद्भाव, तथा आपसी भाइचारा बढाउने एकता र मेलमिलापको रूपमा समेत लिने गरिन्छ । यस पर्वमा मास मदिरालगायतका तामासिक भोजन परम्परादेखि नै निषेध गरी मिष्ठान्न तथा शाकाहारी परिकार मात्रै पकाउने चलन छ ।
भित्री गौराको दिन गौरा महेश्वरको मूर्तिको समिपमा गाईको गोबरबाट दुई वटा कुण्ड निर्माण गरिन्छ । उक्त कुण्डमा छुट्टाछुट्टै गाईको गहुँत र दुध राखी व्रतालु महिलाले सफा धोती लगाई गाईको दुध र गहुँतले भरिएका कुण्डमा दुबो चोपी आफ्नो शरीरमा छर्केर अभिषेक गरी कुण्ड स्नान गरिन्छ । कुण्ड स्नान गर्दा व्रतालु महिलाले मर्यादा क्रम अनुसार पालैपालो जोड मिलाएर नुहाउने चलन छ । यसरी कुण्ड स्नान गर्दा व्रतालु महिलाको पति नामको साथै पुत्रपुत्रीको नाम समेत स्मरण गरी दीर्घायुको कामनासमेत गर्ने गरिन्छ । कुण्ड स्नान गर्नुपूर्व गौरा मातालाई उक्त कुण्डमा आएर बास गरी दिन गौरा गीतमार्फत आह्वान गरिन्छ । गौरी माताले दुधको कुण्डमा स्थानीय देवीदेवताको बास भएकाले आफू दुधको कुण्डमा कसरी आउने भनी जवाफ फर्काउँदा व्रतालुले स्थानीय देवीदेवता सुनको सिंहासनमा विराजमान गरिबक्सेको कुरा गौरी मातालाई भन्ने गरिन्छ । यसरी स्थानीय देवी देवता र गौरी माताको महिमाको वाचन गर्दै कुण्ड नुहाउने परम्परा रहेको छ । कुण्ड स्नान गर्दा गौरादेवीलाई व्रतालुले कुण्डमा आह्वान गरेको र गौरा देवीले स्थानीय देवीदेवताको गरिमा र महत्व दर्शाउँदै जवाफ फर्काएको प्रासङ्गिक भावमा गीत गाउने चलन छ ।
गौरा पर्वको चौथो दिनलाई अठेवाली तथा दुर्वाष्टमी भनिन्छ । अनारी गौराको वर्ष कृष्ण जन्माष्टमी र गौरा पर्व एकै दिन मनाउने गरिन्छ । यो दिन पनि महिला जम्मा भएर गौरा घरमा रहेको गौरा महेश्वरको मूर्तिलाई थप शृङ्गार गरी नयाँ गौरा बनाइन्छ । गौरा महेश्वरको मूर्तिलाई शिरमा राखी थाली तथा मदानीसमेत साथमा लिई गायन तथा नृत्यका साथ गौरा घरदेखि निस्केर गौराखलोमा जाने चलन छ । गौराखलो भनेको गौरा पर्व खेल्न बनाएको ठाउँ हो, जसलाई मन्दिर जस्तै पवित्र स्थानको रूपमा लिइन्छ । यस क्षेत्रमा गौराखलोको ज्यादै ठुलो महìव हुनुका साथै गौराखलामा जुत्ता चप्पल फुकालेर मात्र जाने र मृतसुतक तथा महिलाको मासिक धर्म भएको छ दिनसम्म गौराखलोमा नजाने चलनसमेत छ ।
गौराखलोलाई गौरा मनाउनुका साथसाथै सार्वजनिक कार्यक्रम गर्ने ठाउँको रूपमा समेत प्रयोग गरिँदै आएकाले पछिल्लो समय टोलटोलमा पवित्र गौराखलो सुधारमा जोड दिएको पाइन्छ । सांस्कृतिक प्रवर्धनका लागि यो सकारात्मक पक्ष हो । गौराखलोमा कालो पत्थरबाट विशेष मञ्च निर्माण गरिएको हुन्छ जसलाई ‘कालोपाट’ भनी सम्बोधन गर्ने चलन छ । जुन देवताका धामी बस्ने विशेष आसन हो । देवता कामेको समयमा मात्र धामी कालोपाटमा गएर आफ्नो सम्बोधन गरी दर्शनार्थीलाई टीका लगाई शुभआशिष दिने गर्छन् ।
गौराघरबाट गौराखलामा ल्याइएको गौरा महेश्वरको मूर्तिलाई थालीमा राखी गोलो घेरामा उभिई व्रतालु महिलाले गौरा महेश्वरको जीवनसँग सम्बन्धित प्रेम प्रसङ्ग एवं विभिन्न घटना संवाद तथा गौरा महेश्वरसँग जोडिएका विभिन्न जीवजन्तु तथा वनस्पतिको समेत गौरा गीतमार्फत महिमा गान गरी बिरुडाले दिनभरि गौरी महेश्वरको पुजन गरिन्छ । यो पर्व विशेष गरी गौरा महेश्वरको उत्पत्ति तथा मिलनका कथाका आधारमा मनाइने हुँदा यस पर्वलाई समाजमा सदाचार, आस्था, प्रेम, त्याग, समर्पण, सौभाग्य तथा आपसी मेलमिलाप, भाइचारा एवं पतिव्रता र पत्नीव्रत धर्म सिकाउने महान् पर्वका रूपमा मनाइने गरिन्छ । यस पर्वमा गौरा महेश्वरको महिमागान सुन्न स्वर्गलोकबाट देवतासमेत आई पर्वमा सहभागी हुने जनविश्वास छ । सुदूरपश्चिम देवताले बसोबास गर्ने देवभूमि मानिन्छ । यो पर्वमा सबै देवीदेवता खुसी भएर रमाउने गर्छन् । त्यसैले गौरामा सबै देवीदेवताको दर्शन गर्न पाइन्छ ।
गौरा नचाइसकेपछि गौराखलोमा स्थानीय देवताका धामीबाट टीका लगाउने चलन छ । यसरी अष्टमीको दिन गौरा पर्वको अन्तमा गौरा महेश्वरलाई चढाइएका ऋतुफल तथा पञ्च बिरुडीलाई सफा चाँदरमा राखेर आकाशतर्फ फालेर पाँच चोटी फलफट्काउने चलन छ । फल फट्काउँदा जसले आकाशमै भुइँमा नखसेको बिरुडा वा फल प्राप्त गर्न सक्छ, त्यसको राम्रो हुन्छ भन्ने मान्यता भएकाले फलफड्काउने चलन ज्यादै रोचक हुन्छ । यसका लागि तँछाड मछाड तथा भागदौडसमेत हुन्छ । फल फट्काएपछि अन्तमा बिरुडाले मुण्डो पुज्ने चलन छ । स्थानीय भाषामा शिर अथवा टाउकोलाई मुण्डो भन्ने गरिन्छ ।
यस क्षेत्रमा गौरालाई सबैभन्दा ठुलो पर्व तथा पञ्चमीको बिरुडोलाई सबैभन्दा विशिष्ट तथा पवित्र वस्तु मान्ने चलन छ । यसरी यस क्षेत्रमा पञ्चमीको बिरुडा, दसैँको जमरा, द्वितीयाको (भाइटीका) चिउँरो प्राप्त गर्नु सौभाग्यको प्राप्तिको प्रतीकका रूपमा लिने गरिन्छ ।