चन्द्र पन्दाक
ताप्लेजुङ, भदौ ७ गते। आयोजक टोली सङ्घर्ष स्पोर्टिङ युवा क्लबलाई पराजित गर्दै सगरमाथा युथ क्लब मोरङ अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको सेमीफाइनलमा सङ्घर्ष स्पोर्टिङलाई २–१ को गोलअन्तरले पराजित गर्दै सगरमाथा युथ क्लब फाइनल पुगेको हो।
निर्धारित ९० मिनेटको समयावधिमा दुवै टोली एक-एक गोल बराबरीमा रोकिएका थिए। थप भएको १५ मिनेटको अतिरिक्त समयमा सगरमाथा युथको तर्फबाट गोल गर्न सफल भएपछि मोरङले फाइनल यात्रा सुनिश्चित गरेको हो। मोरङको जितका लागि खेल सुरु भएको ९ औं मिनेटमा र थपिएको अतिरिक्त समयमा दुवै गोल मिलन राईले गर्नुभएको छ।
दुवै टोलीले तीब्र प्रतिस्र्धात्मक खेल प्रदर्शन गरेको भए पनि अतिरिक्त समयमा गोल गर्न नसक्दा सेमीफाइनल खेलेर सङ्घर्षको प्रतियोगिताको यात्रा टुङ्गिएको छ। क्वार्टरफाइनलमा भारतको सिलिगुढीलाई पराजित गर्दै आयोजक टोली सङ्घर्ष स्पोर्टिङ र बुटवल लुम्बिनी फुटबल क्लब रुपन्देहीलाई पराजित गर्दै मोरङ विजयी भएका थिए। शुक्रबारको खेलमा मोरङका मिलन राई सर्वश्रेष्ठ खेलाडी घोषित हुँदै राईले पाँच हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो।
अब शनिबार हुने दोस्रो सेमीफाइनल खेल बिर्तामोड युनाइटेड फुटबल क्लब झापा र सलहेश युवा क्लब सिराहाबिच हुने छ। बिर्तामोडले त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौं र सिराहाले पाँचथर फुटबल क्लबलाई हराउँदै सेमीफाइनलमा पुगेका हुन्।
यसवर्ष प्रतियोगिता विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित पाँच लाख रुपियाँ राशिको नगद पुरस्कार पाउने छ। त्यस्तै उपविजेताले दुई लाख ५० हजार ५५५ रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिता आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो। आयोजकका अनुसार प्रतियोगिताको फाइनल खेल भदौ १० गते सोमबार हुने छ।