• २२ पुस २०८१, सोमबार

संरक्षणमा उदाहरणीय ढाप पोखरी

blog

इलामको सन्दकपुर गाउँपालिका –५ जमुनामा मानवनिर्मित ढाप पोखरी । तस्विरः कोकिला ढकाल

कोकिला ढकाल

इलाम, भदौ ७ गते । इलामको सन्दकपुर गाउँपालिकास्थित जमुनामा मानव निर्मित ढाप पोखरी पानी संरक्षण र वातावरण संरक्षणमा उदाहरणीय बनेको छ । पोखरी हेर्दा अनुमान गर्न नसकिने गरी स्थानीयले यो पोखरी संरक्षण गरिरहेका छन् ।  

२०७२ सालमा संरक्षण सुरु गरिएको यो पोखरी भएको स्थान सिमसार खेत थियो । करिब ५५ रोपनी क्षेत्रफलमा जलाशय रहेको पोखरी बनाउन स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । 

यहाँ रहेको एउटा गुठी चन्द्रपाल थेवे प्रतिष्ठान र स्थानीय २५ जनाले एक रोपनीदेखि ६ रोपनी जग्गा पोखरीका लागि उपलब्ध गराएको चन्द्रपाल थेवे सिमसार पर्यटन विकास समितिका अध्यक्ष विप्लव भट्टराईले बताउनुभयो ।  

स्थानीयको पहलमा हेरौं–हेरौं लाग्ने पोखरीको निर्माण भए पनि यसको थप व्यवस्थापनका लागि अझै काम हुन बाँकीरहेको अध्यक्ष भट्टराईले बताउनुभयो । पछिल्लो समय इलाम भित्रिने पर्यटक पनि ढाप पोखरी हेर्नकै लागि जमुनासम्म पुग्ने गरेका छन् । 

मानव निर्मित पोखरीलाई धेरैले अध्ययन अवलोकनको विषय बनाउने गरेका छन् । ‘यहाँ पानी संरक्षणले स्थानीय पानीका मुहानलाई फाइदा पुगेको छ । सुख्खा याममा पनि पोखरी आसपासका मुहान सुक्दैनन्’ समितिका अध्यक्ष भट्टराईले भन्नुभयो, ‘ग्रामीण जीवन, यहाँको कृषि उत्पादन र सिँचाइका लागि पोखरी संरक्षणले सहयोग गरेको पाइयो ।’ 

पर्यटकीय स्थल सन्दकपुर, जौबारीे, चोयाटार सामुदायिक वन आउने पर्यटकहरु यहाँ आउँछन् । चोयाटार सामुदायिक वन दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपाण्डाको वासस्थान मानिन्छ । रेडपाण्डा हेर्न आउनेहरु ढाप पोखरीसम्म पुग्ने र मानव प्रयासमा भइरहेको संरक्षणको अवलोकन गरेर मात्र फर्कने गरेको स्थानीय जनप्रतिनिधि कुमार गुरुङले बताउनुभयो ।

गुरुङका अनुसार यो क्षेत्रमा धमाधम होमस्टेहरु पनि निर्माण भइरहेका छन् । एक रातमा करिब ५० जनालाई राख्न सकिने व्यवस्था रहेको उहाँको भनाइ छ । इलामबाट करिब ३० किलोमिटर उत्तर–पूर्वमा रहेको यो पोखरीलाई स्थानीयले दिएको जग्गा भने अहिलेसम्म स्थानीयकै नाममा छ । 

अध्यक्ष गुरुङका अनुसार पोखरीको सौन्दर्य क्षेत्रमा काम गर्ने गरि डिपिआर तयार भएको छ । पोखरीको वरिपरि बाटो बनाउने, करिब एक किलोमिटर माथिबाट पानी ल्याएर पानीको पोहोरा पोखरीमा खसाल्ने, डुङ्गा सञ्चालनलगायतका काम गर्ने लक्ष्य रहेको गुरुङले बताउनुभयो ।