• २२ पुस २०८१, सोमबार

कार्य सम्पादनमा हलेसी तुवाचुङ उत्कृष्ट

blog

हलेसी तुवाचुङ नगरपालिकाको कार्यालय ।

राजकुमार भट्टराई

खोटाङ, भदौ ७ गते । स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा खोटाङ जिल्लाको स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका उत्कृष्ट बनेको छ । दश स्थानीय तह रहेको यस जिल्लामा सबैभन्दा धेरे अङ्क ल्याएर हलेसी तुवाचुङ प्रथम भएको हो । 

यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिका दोस्रो भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुणस्तर परीक्षण गरी सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार हलेसी तुवाचुङले आर्थिक वर्ष २०७९-८० को संस्थागत क्षमता स्वमूल्याङ्कनमा १०० पूर्णाङ्कमा ८३ अङ्क पाएको हो । 

स्थानीय तहको कार्य–प्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उदेश्यले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन गरिने मन्त्रालयले जनाएको छ । उक्त स्वमूल्याङ्कनमा हलेसी तुवाचुङ नगरपालिका जिल्लाकै उत्कृष्ट देखिएको हो । उक्त नतिजा अनुसार कोशी प्रदेश भरी हलेसी तुवाचुङ पाँचौँ उत्कृष्ट स्थानीय तहमा रहेको छ ।  

नगरपालिकामा सुशासन र पारदर्शितालाई ध्यानमा राखी हरेक काम कानुन र नियम अनुसार सञ्चालन गरिरहेकाले हलेसी तुवाचुङको संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा राम्रो आएको मेयर विमला राईले बताउनुभयो । अघिल्लो आर्थिक वर्ष २०७८-७९ को तथ्यांक अनुसार पनि हलेसी तुवाचुङ नगरपालिका जिल्लाका अन्य स्थानीय तहभन्दा अगाडि थियो । 

यस्तै, जिल्लाको अर्को स्थानीय तह दिप्रुङ चुइचुम्मा गाउँपालिका जिल्लाको दोस्रो स्थानमा छ । उसले १०० पूर्णाङ्कमा ८० अङ्क प्राप्त गरेको छ । जिल्लाको दोस्रो स्थानमा रहेको दिप्रुङ प्रदेशभरीमा १४ औँ स्थानमा छ । संस्थागत क्षमता स्वमूल्याङ्कनमा जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भने सबैभन्दा कमजोर देखिएको छ। दिक्तेलले १०० पूर्णाङ्कमा ६६ अङ्क पाएको छ । 

जिल्लाका अन्य स्थानीय तहहरुमा केपिलासगढी गाउँपालिकाले ७८.२५ अङ्क, साकेला गाउँपालिका ७६.२५ र जन्तेढुङ्गा गाउँपालिका समान ७३.२५ अङ्क, खोटेहाङ गाउँपालिकाले ७१.२५ अङ्क, ऐंसेलुखर्क गाउँपालिकाले ६८.७५ अङ्क, वराहपोखरी गाउँपालिकाले ६८.२५ अङ्क र रावा बेसी गाउँपालिकाले ६७.२५ अङ्क प्राप्त गरेका छन् ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ ले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका लागि विभिन्न विषयक्षेत्रहरु निर्धारण गरेको छ । शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजनामा व्यवस्थापन, वित्तीय र आर्थिक व्यवस्थापन, सेवा प्रवाह, सहकार्य र समन्वय, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण र वातावरण संरक्षण तथा विपद् व्यवस्थापनन गरी १० शीर्षकमा स्थानीय तहको स्वमूल्याङ्कन हुने गरेको छ ।