• १६ भदौ २०८१, आइतबार

कुखुरा फार्ममा चितुवा पस्यो

blog

वडा अध्यक्ष बोधराज कुँवरको फार्ममा चितुवाले मारेर छोडेका लोकल कुखुरा । तस्विरः राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ, भदौ ७ गते । स्याङ्जाको वालिङ नगरपालिका –१४ का वडाध्यक्ष बोधराज कुँवर (राजु) ले सञ्चालन गर्दै आउनुभएको लोकल कुखुरा फार्ममा चितुवा पसेर कुखुरा मारेको छ ।

खोरभित्र पसेको चितुवाले ९८ वटा स्थानीय जातका कुखुरा मारेको अध्यक्ष कुँवरले बताउनुभयो । उहाँका अनुसार खोरको ढोका र जाली च्यातेर भित्र पसेको चितुवाले कुखुरा र टर्की मारेको हो ।  

स्थानीय प्रजातिका कुखुरा पालनबाट राम्रो आम्दानी गर्दै आउनुभएका वडाध्यक्ष कुँवरले स्थानीय जातका अण्डासमेत उत्पादन गर्दै आउनुभएको थियो । उहाँले भन्नुभयो, “कुखुरा र अण्डा उत्पादन र बिक्री गरेर मासिक ३० हजार आम्दानी गर्दै आएको थिएँ, चितुवाले सबै तहसनहस पारिदियो ।” 

चितुवाको आक्रमणबाट कुखुरा र टर्की गरेर झण्डै दुई लाख क्षति पुगेको अध्यक्ष कुँवरले बताउनुभयो । प्रहरीले क्षतिको मुचुल्का गरेको जनाएको छ ।