• ७ मंसिर २०८१, शुक्रबार

ताप्लेजुङ गोल्डकप : बिर्तामोडसँग आर्मी स्तब्ध

blog

बल खोस्ने प्रयास गर्दै बिर्तामोड युनाइटेड र त्रिभुवन आर्मीका खेलाडी । तस्बिर : गोरखापत्र

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ ६ गते । दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा बिर्तामोड युनाइटेड फुटबल क्लब झापासँग विभागीय टोली त्रिभुवन आर्मी क्लब स्तब्ध बनेको छ । बिहीबार भएको खेलमा बिर्तामोडसँग आर्मी ३–० गोलले पराजित भयो । 

खेलको मध्यान्तरसम्म गोलरहित बराबरी खेलेका दुवै टोलीले मध्यान्तरपछि सुरुमै अर्थात् खेलको ४६ औँ मिनेटमा बिर्तामोड युनाइटेडका अविशेक गुरुङले गोल गर्न सफल हुनुभयो । गुरुङले पहिलो गोल गर्दै अग्रता लिएको बिर्तामोड युनाइटेडका तर्फबाट ६४औँ मिनेटमा देवेन्द्र तामाङले दोस्रो र ६६औँ मिनेटमा युसेफ थपलियाले तेस्रो गोल गर्नुभयो । 

खेलमा बिर्तामोड युनाइटेड फुटबल क्लब झापाका गोलकर्तासमेत रहेका देवेन्द्र तामाङ सर्वश्रेष्ठ खेलाडी घोषित हुँदै पाँच हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगिताको क्वार्टर फाइनलअन्तर्गतको अन्तिम खेल बिर्तामोड युनाइटेड र त्रिभुवन आर्मीले खेलेका हुन् । 

हजारौँ दर्शकको समर्थनबिच दुवै टोलीबाट उत्कृष्ट र आकर्षक खेल प्रदर्शन भए पनि गोल गर्न असफल हुँदा त्रिभुवन आर्मीले प्रतियोगिताबाट बाहिरिनुपरेको छ । प्रतियोगितामा सहभागी आठ टोलीमध्ये सेमिफाइनल पुगेका आयोजक टोली सङ्घर्ष रिपोर्टिङ युवा क्लब फुङ्लिङ र सगरमाथा यूथ क्लब मोरङबिच शुक्रबार प्रतिस्पर्धा हुनेछ । 

दोस्रो सेमिफाइनल खेल बिर्तामोड युनाइटेड र सलहेस युवा क्लब सिराहाबिच हुनेछ । यस वर्ष प्रतियोगिता विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित पाँच लाख ५५५ रुपियाँ पुरस्कार पाउनेछ । त्यस्तै उपविजेताले दुई लाख ५० हजार ५५५ रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।