• ९ मंसिर २०८१, आइतबार

विपदबाट मृत्यु भएका खोटाङका चार परिवारलाई एक–एक लाख राहत

blog

मृतकको परिवारलाई राहत रकम वितरण पश्चात् सामूहिक तस्बिरमा कोशी प्रदेशका मन्त्रीहरू अधिकारी र राई साथमा प्रजिअ कार्की लगायत । तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई
खोटाङ, भदौ ६ गते । 
विपदबाट ज्यान गुमाएका खोटाङका चार जनाको परिवारलाई कोशी प्रदेश सरकारले राहत रकम प्रदान गरेको छ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपदबाट भएको क्षतिको खोज उद्धार तथा राहत वितरणसम्बन्धी मापदण्ड, २०७६ को दफा ४ बमोजिम मृत्यु भएका व्यक्तिको परिवारलाई जनही एक लाखका दरले राहत रकम वितरण गरिएको हो ।

बिहीबार जिल्ला प्रशासन कार्यालय खोटाङमा आयोजित कार्यक्रममा मृतकका परिवारलाई कोशी प्रदेशका कानुन मन्त्री लीलाबल्लभ अधिकारी, कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई पिके र प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले हस्तान्तरण गर्नुभएको हो ।

विपदमा मृत्युवरण गरेका रावा बेसी गाउँपालिका–१ कुभिण्डेका सिद्धि बहादुर श्रेष्ठ, साकेला गाउँपालिका–२ रतन्छाका मधुराज राई, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका पदम कुमारी घिमिरे र रावा बेसी गाउँपालिका–३ लामिडाँडाका सावित्रीदेवी नेवारको परिवारलाई राहत रकम वितरण गरिएको हो ।

कुभिण्डेका श्रेष्ठको डढेलोमा परी मृत्यु भएको थियो । रतन्छाका मधुराज राई र जलेश्वरीका पदम कुमारीको बाढी पहिरोबाट र लामिडाँडाका सावित्रीदेवीको पहिरोमा परी मृत्यु भएको थियो ।