• २५ पुस २०८१, बिहिबार

अभिभावक पढ्दै, विद्यार्थी घरको काम सिक्दै

blog

प्रेम अधिकारी 

पशुपतिनगर(इलाम) भदौ ६ गते । इलामको रोङ गाउँपालिका-३ की विष्णुकुमारी गुरुङ उमेरले ६५ वर्ष पुग्नुभयो । विष्णुमाया ६५ वर्षको उमेरमा कापी र कलम बोकेर विद्यालय जानुहुन्छ । 

"उमेरमा आफूले पढ्न नपाएर अहिले पछुताउनु परेको छ, नाति नातिनीका लागि अहिले आफैँ विद्यालय धाउँदै छु,’ विष्णुमायाले भन्नुभयो । 

गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि प्रत्येक महिनामा एक पटक अभिभावक पढ्नका लागि विद्यालय आउनै पर्ने व्यवस्था गरेपछि विष्णुमाया घरको सबै काम छोडेर पढ्न जान थाल्नु भएको हो । विष्णुमाया जस्तै रोङ-३ कै दिर्घमाया भुजेल पनि महिनामा एक पटक विद्यालयमा पढ्न आउनुहुन्छ । दिर्घमाया भन्नुहुन्छ, "विद्यालय आएर पढ्न थालेपछि नानीहरूको अवस्था कस्तो छ भन्ने थाहा हुन थालेको छ ।"

अहिले उहाँहरू मात्र होइन रोङका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावक प्रत्येक महिनाको एक दिन विद्यालयमा पढ्न जान थालेका छन् । जुन दिन कक्षा ८ माथिका विद्यार्थी घरमा बस्छन् र अभिभावकले गर्ने काम गर्ने गरेको गाउँपालिका अध्यक्ष मनीकुमार स्याङबोले जानकारी दिनुभयो । 

शिक्षाको गुणस्तर सुधार गर्ने जिम्मा शिक्षकको मात्र नभई अभिभावकको पनि हुने भएकाले अभिभावक पढाउने कार्यक्रमको थालनी पालिकाले गरेको जनाएको छ । "अभिभावकलाई आफ्ना नानीहरूको पढाइको अवस्था बुझ्न दिने र विद्यार्थीलाई व्यवहारिक बनाउन घरको काम सिकाउने प्रयास पालिकाले गरेको हो," अध्यक्ष स्याङबोले भन्नुभयो । 

सामुदायिक विद्यालयका अभिभावकलाई शिक्षा दिने उद्देश्यले अभिभावक शिक्षा कार्यक्रम सुरुवात पालिकाले गरेको छ । अभियानमार्फत विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने, शिक्षक, विद्यार्थी र स्थानीय सरकार गरी चार खम्बे नीति कार्यान्वयन गर्ने, अध्यक्षसँग विद्यार्थी कार्यक्रममार्फत विद्यालयमा आधारित उद्यमशीलता विकास गर्ने, प्रविधिमैत्री शिक्षण तथा एकीकृत अनुगमन प्रणालीको कार्यान्वयन गर्न र शिक्षक, कर्मचारी तथा सामुदायिक विद्यालयको क्षमता विकास गरी शिक्षा प्रतिको अपनत्व विकास गर्ने योजना रहेको अध्यक्ष स्याङ्बोले बताउनुभयो । विद्यालयको सुरक्षित र गुणस्तरीय भौतिक पूर्वाधार, प्रभावकारी स्थानीय पाठ्यक्रम निर्माण र खेलकुद कार्यक्रम गर्न अभियान घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै सामुदायिक विद्यालयको आन्तरिक स्रोतमा वृद्धि गर्ने योजना समेत ल्याइएको अध्यक्ष स्याङ्बोले बताउनुभयो । विद्यालयको स्रोत जुटाउनका लागि विद्यालयका खाली जमिनमा चिया, बास तथा फलफूलका बिरुवा रोपिँदै आएको छ ।

गाउँपालिकाका ३० वटा सामुदायिक विद्यालयमा अहिले दुई हजार चार सय विद्यार्थी अध्ययनरत रहेको शिक्षा शाखा प्रमुख श्रुति तामाङले जानकारी दिनुभयो । पालिकाले यस पटक १३ वटा माध्यमिक विद्यालयका पाँच सय ५० जना अभिभावकलाई विद्यालय शिक्षाबारे पढाएको छ । पालिकाले विद्यालय शिक्षकलाई यसअघि सहजकर्ताको रूपमा छनौट गरी तालिम दिएको थियो । 

गाउँपालिका उपाध्यक्ष विष्णुमाया खवासले अभिभावक शिक्षाले विद्यार्थीको अवस्था छलङ्ग पारेको बताउनुभयो । उहाँले निजी विद्यालय र समुदायबिच अभिभावकमै खाडल रहेको बताउनुभयो । उपाध्यक्ष खवासले भन्नुभयो, "सामुदायिक विद्यालय आउने बच्चा खानासम्म नखाई आउँछन्, अनि कसरी पढ्नु, अभिभावकले बच्चाका लागि समय दिनु पर्छ ।" उहाँले निजी विद्यालय पढाउने अभिभावक खाजा बोकेर विद्यालय जाने गरे पनि सामुदायिक विद्यालयका अभिभावक एक दिन विद्यालय आउन समेत अल्छी गर्ने गरेको बताउनुभयो । 

सहजकर्ता लोकमाया चौलागाईले अभिभावक शिक्षाले विद्यार्थीलाई नियमित गराउन सहयोग पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, "यो शिक्षामार्फत अभिभावकले विद्यार्थीको व्यक्तिगत चाहाना, शिक्षा, स्वास्थ्यका बारेमा बुझ्न जरुरी छ ।"

पालिकाले शैक्षिक गुणस्तर सुधारका लागि प्रविधिमैत्री शिक्षा, एक रुपियाँ बचत अभियान, अध्यक्षसँग विद्यार्थी कार्यक्रम सञ्चालन गरी स्थानीय पाठ्यक्रम समेत लागु गरेको छ । पालिकाले आर्थिक वर्ष २०८१-०८२ मा दुई करोड ५० लाख रुपियाँ विनियोजन गरेको अध्यक्ष स्याङबोले जानकारी दिनुभयो ।