वासिङ्टन, भदौ ६ गते । मध्यस्थकर्ताहरूको आग्रहमा आयोजित गाजा युद्धविराम वार्ता अवरुद्ध भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई हमाससँग गाजा युद्धविराम सम्झौताका लागि दबाब दिनुभएको छ ।
वार्ताका लागि गरिएका प्रयास सफल हुन नसकेपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन मध्यपूर्वको भ्रमणलाई अन्त्य गरेको केही समयपछि बाइडेन र नेतान्याहुबीच टेलिफोनमा कुराकानी भएको हो ।
मध्यपूर्वमा तनाव बढ्दै जाँदा अमेरिकी कूटनीतिज्ञ स्वदेश फिर्ता हुनुले तत्काल थप वार्ताको सम्भावना देखिँदैन ।
यद्यपि, सामाजिक सञ्जाल एक्सनमार्फत बाइडेनले युद्धविराम र बन्धक मुक्तिको सम्झौता बन्द गर्नुपर्ने जनाउँदै बाँकी अवरोध हटाउन आगामी कायरो वार्ताबारे छलफल गरेको जनाउनुभएको छ ।
तेहरानले हमासका शीर्ष नेताको हत्याको बदला लिने धम्की दिएपछि उहाँले नेतान्याहुसँग इरान र यसको आतङ्कवादी समूहबाट हुने खतराविरुद्ध अमेरिकाले इजरायलको रक्षा र समर्थन गर्ने बताउनुभयो ।
ह्वाइट हाउसले पनि अमेरिकी राष्ट्रपति बाइडेनले सम्झौतामा पुग्न ‘तत्काल जोड दिएको’ जनाएको छ । उपराष्ट्रपति कमला ह्यारिसले पनि फोनमा नेतान्याहुसँग कुराकानी गरेको स्रोतले जनाएको छ ।
एक्सियोस समाचारका अनुसार बाइडेनले नेतान्याहुलाई अमेरिका, इजिप्ट र कतारले मध्यस्थता गरिरहेको वार्तामा थप लचिलो हुन दबाब दिनुभएको छ ।
गत अक्टोबरमा हमासले गरेको आक्रमणपछि बाइडेन प्रशासनले इजरायलको समर्थनका लागि नेतान्याहूलाई सहयोग गर्दै प्यालेस्टिनी लडाकु समूहलाई निष्क्रय पार्न सैन्य सहायता प्रदान गर्दै आएको छ । रासस/एएफपी