दिवाकर पोख्रेल
देउखुरी, भदौ ६ गते । लामो समयदेखि सडक क्षेत्रमा परेको जग्गाको मुआब्जा पाएर पनि संरचना हटाउन स्थानीयले नमानेपछि नगरप्रमुखले आफ्नै घरमा डोजर चलाएर सडक विस्तार सुरु गर्नुभएको छ ।
लमही–कोइलाबास सडकखण्ड अन्तर्गत लमही नगरपालिका क्षेत्रको दायाँबायाँ दुवैतर्फ फराकिलो बनाउन काम सुरु गरिएको हो । लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीको आफ्नो घर पनि सडक क्षेत्रमा पर्ने भएकाले स्थानीयमा सकारात्मक सन्देश दिने उद्देश्यले आफूले आफ्नो घरमा डोजर लगाएको बताउनुभयो ।
मुआब्जा पाइसकेपछि आफूहरूले संरचना हटाउनुपर्ने भन्दै नगरप्रमुख चौधरीले कर्तव्य सम्झेर आफ्नो घर भत्काएर सहरको सौन्दर्र्यीकरणमा सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो घर पुरानो हो, सडक विभागले सडक विस्तार गर्ने योजना ल्याएपछि मैले नगरप्रमुखको हैसियतले पनि मुआब्जा बुझेकाले घर भत्काउन सहयोग गरेको छु । अरूबाट पनि सहयोग हुने विश्वास छ ।”
सडक विस्तारका लागि सडक डिभिजन कार्यालय दाङले मुआब्जा बुझेर संरचना नहटाएकालाई ३५ दिने सूचना जारी गरी संरचना हटाउन आग्रह गरेको छ । सूचनाको समयावधि सकिन नपाउँदै पूर्वसहरी विकासमन्त्री तथा प्रतिनिधि सभा दाङ क्षेत्र नं. १ का सांसद मेटमणि चौधरीले नगरप्रमुखकै घरमा डोजर चलाएर सडक विस्तारको औपचारिक सुरुवात गर्नुभयो । नगरप्रमुखको घरमा डोजर चलाएपछि पूर्वमन्त्री चौधरीले सडक भत्काएर मात्रै नछाडिने र यसको पूर्ण विस्तार गरिने भएकाले सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो निर्वाचन क्षेत्रको ठुलो सहर लमहीलाई सुन्दर पार्न पनि सडक विस्तारको काम मापदण्ड अनुसार आवश्यक देखियो । नगरप्रमुखले आफ्नो घरबाट संरचना हटाउन सुरु गर्नुभएको छ । अब उक्त सडक क्षेत्रमा पर्ने सबै संरचना हटाइन्छ ।” सडक विस्तारका लागि बजेटको अभाव हुन नदिने भन्दै पूर्वमन्त्री चौधरीले सहरीकरणका लागि पुराना संरचना हटाउन आवश्यक रहेको भन्दै लमही–कोइलाबास सडक विस्तार नगर्दा बजार कुरूप देखिएको बताउनुभयो ।
सडक डिभिजन कार्यालयले पनि लमही–कोइलाबास अन्तर्गत बजार क्षेत्रका संरचना हटाउन उत्तिकै सक्रियता देखाएको छ । सूचना जारी गरेर संरचना हटाउन र घर खाली गर्न आग्रह गरेको कार्यालयले पटक पटक स्थानीयसँग पनि छलफल गरेको छ । घरधनीले जग्गाबापतको मुआब्जा पाइसकेका कारण अब संरचना हटाउन ढिलाइ नगरी कामको सुरुवात गर्न थालिएको हो ।
सडक डिभिजन कार्यालयले कोइलाबास सडकलाई सहीदमार्ग नामकरण गरेर राष्ट्रिय मार्गका रूपमा व्यवस्थापन गरेकाले राष्ट्रिय राजमार्गको संरक्षण गर्ने काम आफूहरूको भएकाले मुआब्जा वितरण भएका स्थान खाली गराई विस्तारको काम गरिने जनाएको छ । हुलाकी सडक विस्तार गर्दा स्थानीयले जग्गाको मुआब्जा लिए पनि भौतिक संरचनाको मुआब्जा नपाएको भन्दै विरोध गरेपछि लामो समयदेखि बजार क्षेत्रमा सडक विस्तार हुन सकेको थिएन । हुलाकी सडक अन्तर्गत लमही नगरपालिका क्षेत्रभित्र पर्ने सडक क्षेत्रको दायाँबायाँ १५/१५ मिटर गरी ३० मिटर खाली गराउन पहल सुरु भएको हो । बजार क्षेत्रमा अधिकांश घर सडक क्षेत्रभित्र पर्ने गरेका छन् । लमही–कोइलाबास हुलाकी सडक क्षेत्रमा पर्ने जग्गा अधिग्रहण गर्दा नेपाल सरकारले करिब ४३ करोड ६१ लाख ३३ हजार ४१८ रुपियाँ मुआब्जाका लागि जग्गाधनीलाई वितरण गरेको थियो । सडक कालोपत्रे गर्ने क्रममा गढवा बजार क्षेत्रमा भौतिक संरचना हटाएर सडक खाली गराउने काम गरिए पनि लमही क्षेत्रमा काम हुन सकेको थिएन । अब नगरप्रमुखकै घरबाट संरचना हटाउन थालिएपछि बजार क्षेत्रमा सौन्दर्य बढ्नेमा स्थानीय आशावादी छन् । स्थानीय प्रमोद गौतमले सडक क्षेत्रमा पर्ने संरचना हटाएर विस्तारको काम पहिल्यै नै हुनुपर्ने भए पनि अहिले यसको सुरुवात हुनु सकारात्मक रहेको बताउनुभयो ।