अमरराज नहर्की
तनहुँ, भदौ ५ गते । पृथ्वीराजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा म्याग्दे गाउँपालिका–६ मौरीबजारमा बुधबार साँझ ५:०० बजे पहिरो खस्दा पृथ्वीराजमार्गमा अवरोध भएको छ ।
अविरल वर्षाले गर्दा पहिरो खस्दा सडकमा अवरोध भएकोले वैकल्पिक मार्ग प्रयोग गर्न लगाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।
मौरी बजारमा सानो पहिरो खसेकोले हटाउने काम भइरहेको र घाँसीकुवामा ठुलो पहिरो खसेको र खस्ने क्रम जारी रहेकोले बिहीबार बिहानबाट मात्रै पहिरो पन्छाइने प्रनाउ रायले जानकारी दिनुभयो ।
पहिरोमा मानवीय क्षति भएको र नभएको बारेमा यकिन भई नसकेको कसैले पनि हराएको पनि खबर नगरेको रायले बताउनुभयो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले घाँसीकुमा ठुलो पहिरो गएकोले हटाउन दुई दिन लाग्ने देखिएको जानकारी दिनुभयो ।
‘‘पहिरोको स्थलगत निरीक्षण गर्नु भएका नगर प्रमुख न्यौपानेले भन्नुभयो दुई सय मिटर क्षेत्र समेटिने गरी ठुलो पहिरो गएकोले छ र खस्ने क्रम जारी भएकोले तत्काल पहिरो हटाउन सक्ने अवस्था छैन ।’’
घाँसीकुवाको पहिरोमा परि सोममाया गुरुङको बन्दै गरेको घरमा क्षति पुगेको प्रनाउ रायले जानकारी दिनुभयो । पहिरोले बिजुलीको पोलमा क्षति पुगेकोले सो क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।