• १२ असार २०८१, बुधबार

मतदाताको परीक्षा

blog

सङ्घीयतासहितको संविधान जारी भएपछि स्थानीय तहका जनप्रतिनिधिका लागि दोस्रो पटकको निर्वाचन हुन अब केही दिन मात्र बाँकी छ । यस पटक सबै स्थानीय तहमा एकै पटक निर्वाचन हुनेगरी निर्वाचन आयोगले कार्यक्रम अघि बढाइ पनि सकेको छ । गत वैशाख ११ र १२ गते भएको उम्मेदवार मनोनयनको अवस्था हेर्दा ७५३ स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको उपस्थिति उत्साहजनक देखिएको छ । कतिपय ठाउँमा नयाँ अनुहार त कतिपय ठाउँमा पुरानै अनुहार विभिन्न पदका लागि आकाङ्क्षी बनेर देखापरेका छन् । दलीय राज्यव्यवस्था अँगालेका मुलुकमा राजनीतिक दल र स्वतन्त्र व्यक्ति उम्मेदवार हुन पाउने प्रावधान छ । सोही प्रावधानअनुसार हामीकहाँ पनि कतै राजनीतिक दलका प्रतिनिधिका रूपमा त कतै स्वतन्त्र उम्मेदवारका रूपमा बग्रेल्ती उम्मेदवार चुनावी मैदानमा प्रतिस्पर्धा गर्दै छन् । यो आलेख तयार पार्दासम्म निर्वाचन आयोगबाट प्राप्त जानकारीअनुसार ७५३ वटै निर्वाचन क्षेत्रबाट झन्डै–झन्डै डेढ लाखजतिले विभिन्न पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । 

आफ्नो उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशन हुँदाका दिनसम्म यो सङ्ख्या केही घट्न पनि सक्छ । खासगरी छ महानगर, ११ उपमहानगर, २७६ नगरपालिका र ४६० गाउँपालिकाका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष तथा छ हजार ७४३ वडाका अध्यक्ष र सदस्य गरी करिब–करिब ३५ हजार पदमा विभिन्न राजनीतिक दलबाट सिफारिस गरिएका व्यक्ति दलीय पहिचानसहित र स्वतन्त्र उम्मेदवार आ–आफ्ना चुनावी कार्यक्रमसहित चुनावी मैदानमा प्रतिस्पर्धी बनेर आएका छन् । 

लोकतन्त्रमा आवधिक निर्वाचन महत्त्वपूर्ण मानिन्छ । विगतको समीक्षा गर्दै आगतका लागि योग्य जनप्रतिनिधि छान्ने अवसर हरेक मतदाताका लागि निर्वाचनबाटै प्राप्त हुने गर्छ । सङ्घीयतामा स्थानीय तह निकै शक्तिशाली मानिन्छ । यो जनताको सबैभन्दा नजिकको सरकार पनि हो । जनताले सरकार देख्ने (चिन्ने) र सरकारले जनता देख्ने (हेर्ने) उपयुक्त निकाय पनि स्थानीय तह नै हो । यस कारण पनि आगामी निर्वाचन स्थानीय तहको सक्षमता र सङ्घीयताको सुदृढीकरण दुवै हिसाबले निकै अर्थपूर्ण देखिन्छ । सङ्घीयतामा स्थानीय विकास र सार्वजनिक सेवाका अधिकांश कार्य स्थानीय पालिकाबाटै सम्पादन हुन्छन् । जनताका अधिकांश काम पालिकासँग सम्बन्धित हुन्छन् । यस कारण चुनावी मैदानका प्रतिस्पर्धीमध्ये सबैभन्दा योग्य, सक्षम र योग्य उम्मेदवार छान्नु प्रत्येक सचेत मतदाताको पहिलो र महŒवपूर्ण कर्तव्य हो । पाँच वर्षमा एक दिन एक पटक आउने यो दुर्लभ तर निकै महत्त्वपूर्ण अवसरको सदुपयोग हुन सकेन भने बाँकी दिन पश्चात्तापमा बस्नुको विकल्प छैन ।

यसभन्दा अघि दलीय राजनीतिबाट चुनावमा प्रतिस्पर्धा गर्नेमध्ये कतिपयले टिकट पाएनन् । उनीहरू आफूले टिकट नपाएर रोए । यही वैशाख ३० मा हुने मतदानको परिणाम निस्केपछि अर्को पटक टिकट पाएर पनि पराजित हुने रोलान्÷रुन्छन् नै । तेस्रो पटक कतै हामीले मतदान गरेको पात्र खराब, कमसल वा अक्षम परेर बाँकी पाँच वर्षका लागि हामीलाई रोइरहन नपरोस् । यस कारण मतदाताले मतदानका क्रममा उच्चतम विवेक प्रयोग गर्नु जरुरी छ । 

हरेक मतदाताका लागि मतदान प्रक्रिया मतदानका क्रममा उम्मेदवारको भाग्यको फैसला मात्रै नगरी आफ्नै भाग्यरेखासमेत कोर्ने सुवर्ण अवसर हो भन्ने हेक्का राख्न जरुरी छ । हाम्रो मत गलत पात्र वा प्रवृत्तिलाई पर्न गएमा अर्को पाँच वर्ष रुनुपर्ने त होइन भन्ने हेक्का बेलैमा राख्न जरुरी छ । 

यो चुनाव प्रत्येक मतदाताका लागि आफ्नो मनले खामेको उम्मेदवार छनोट गर्ने एक मात्र उपयुक्त अवसर हो । जस्तो उम्मेदवारलाई भोट दिइन्छ त्यसैले आगामी पाँच वर्षका लागि स्थानीय पालिकाको भविष्य तय गर्नेछ । प्रत्येक मतदाताको भाग्यरेखा पनि उसैले कोर्नेछ । यस कारण कुनै पनि क्षणिक लोभलालच, चिनजान, नातासम्बन्ध, गुट–उपगुट वा व्यक्तिगत आश्वासनभन्दा निकै माथि उठेर आफ्नो समाज र पालिकाको समष्टि हित हेर्न सक्ने व्यक्तिलाई मात्र अमूल्य मतदान गर्नुपर्छ । सम्झन जरुरी छ, सबै प्रकारका दानमध्ये मतदान सबैभन्दा श्रेष्ठ दान हो । 

यति बेला सामाजिक सञ्जालबाट उम्मेदवारले आफ्नो प्रचारप्रसार सुरु गरिसकेका छन् । केही दिनमा जनताको घर, आँगन÷चोक, चोक र गल्ली, गल्लीमा पनि उनीहरू आउने नै छन् । विकास निर्माणका तिलस्मी योजना सुनाउन पनि बाँकी राख्ने छैनन् । धर्तीलाई स्वर्ग बनाउने कुरा त सामान्य नै भयो । यसबीचमा उनीहरूसँग सचेत मतदाताले स्थानीय विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगार र सुशासनको प्रत्याभूतिप्रति उनीहरूको दृष्टिकोण र योजना के छ ? सोको विस्तृत विवरण लिनुपर्छ । स्थानीय समस्याको पहिचान र तिनको समाधानका लागि उनीहरूसँग कार्यक्रम के छ ? भावी रणनीति के छ ? प्रस्तावित कार्यक्रम कार्यान्वयनका लागि नेतृत्व सीप र चरित्र कस्तो छ भन्ने परीक्षण गरेर मात्र मतदान गर्नुपर्छ । तसर्थ आगामी दिन हरेक मतदाताका लागि सोचनीय छन् । विचारणीय छन् । मतदानपूर्व आफूले गरेको मतदानबाट छानिएको पात्रले आगामी दिनमा पालिकाको भाग्यरेखा कोर्न सकोस्, मतदातालाई उनीहरूले दिएको अमूल्य मतप्रति पछुताउन नपरोस् भन्ने कुरा विशेष रूपमा ख्याल राख्न जरुरी छ । यो सचेत मतदाताको चिनारी पनि हो । 

उम्मेदवारमध्ये आफूले मतदान गर्न उनीहरूले प्रकाशन गर्ने घोषणापत्र पनि एउटा आधार हुन सक्छ । हामीकहाँ दलीय रूपमा निस्कने घोषणापत्र बढी क्लिष्ट, केन्द्रीयता प्रधान र तिलस्मी खालका हुन्छन् । घोषणापत्र कार्यान्वयनका लागि नभएर कर्मकाण्डीय विधि पूरा गर्न हेतु निकाल्ने गरिन्छ । फेरि चुनावपछि ती घोषणापत्रतर्फ फर्केर समीक्षा गर्ने चलन अद्यापि छैन । यसले गर्दा त्यस्ता घोषणापत्रमा भन्दा उम्मेदवारसँगको साक्षात्कारमा उसले गरेका वाचा र प्रतिज्ञालाई ख्याल गरेर मतदान गर्न आवश्यक छ । भोलि निर्वाचित भएपछि उसको कार्यथलो पनि मतदातावररिपरिकै भूगोल हुने हुँदा उसले गरेका वाचा र कबोल कति पूरा भए भएनन् ? भनेर बेला–बेलामा घचघच्याउन पनि सहज हुन्छ । मध्यावधि समीक्षा गर्न पनि सकिन्छ । तसर्थ उम्मेदवारसँगको वार्तालाप र उसले सुनाएका भावी योजना पनि मतदानका लागि थप आधार हुन सक्छन् । 

कतिपय अवस्थामा उम्मेदवार दोहोरिएका हुन सक्छन् । यस्तो अवस्थामा उसले गरेको अघिल्लो अवधिको कामको निष्पक्ष र निर्मम समीक्षा गर्न जरुरी छ । महालेखाले अर्बांै रकम स्थानीय पालिकामा अनियमित खर्च भएकाले बेरुजु देखाएको छ । यो अवस्थाले ती पालिकामा आर्थिक सुशासन कायम नभएको निष्कर्ष दिन्छ । कतै हाम्रासामु दोहोरिएका उम्मेदवारको पालिकामा त यस्तो स्थिति छैन ? यसलाई मतदानका क्रममा हेक्का राख्न जरुरी छ । 

अघिल्लो पटकभन्दा यस पटकको चुनावमा ३६ लाख नयाँ मतदाता थपिएका छन् । ती मतदातालाई पनि दाहोरिएका उम्मेदवारका विगतका गतिविधिले प्रभाव पार्न सक्छ । त्यसको पनि समीक्षा हुन जरुरी छ । विगत पुस्ताले गल्ती गरे पनि नवआगन्तुक पुस्ताले त्यसलाई सच्याउन सक्छ । अघिल्लो पुस्ताले पनि पुराना गल्ती नदोहो-याउन सक्छ । यसका लागि पनि यो निर्वाचन उपयुक्त अवसर हो । तसर्थ मतदानका लागि हरेक दृष्टिले मतदाताको सचेतता, खबरदारी र निष्पक्षता अपरिहार्य छ । यसो भयो भने मात्र उपयुक्त पदमा उपयुक्त पात्र निर्वाचित हुन सक्छ । सच्चा लोकतन्त्रको उद्देश्य पनि यही नै हो । 




Author

नगेन्द्रराज पौडेल