• १० पुस २०८१, बुधबार

राजमार्ग र पालिकाको केन्द्र जोड्ने सडक अवरुद्ध

blog

पहिरोका कारण अवरुद्ध बनेको मकवानपुरको राक्सिराङ गाउँपालिकाको केन्द्र र राजमार्गसँग जोड्ने सडक खण्ड ।

राममणि दाहाल

हेटौँडा, भदौ ५ गते । मकवानपुरको राक्सिराङ गाउँपालिकाको केन्द्र र राजमार्गसँगको सडक सम्पर्क विच्छेद भएको छ । विगत केही दिनदेखिको भारी वर्षाको कारण गएको पहिरोका पूर्व–पश्चिम राजमार्गदेखि गाउँपालिकाको केन्द्रसम्म पुग्ने सडक अवरुद्ध भएसँगै सडक सम्पर्क विच्छेद भएको हो । 

पूर्व पश्चिम राजमार्ग अन्तर्गत ज्यामिरे–मनहरी सडक खण्डबाट गाउँपालिकाको केन्द्र जाने सिम्पानी–सरिखेत सडक र मनहरी–चैनपुर सडक अविरल वर्षापछि आएको पहिरोले अवरुद्ध बनेको छ । गाउँपालिकाले दुवै सडक अवरुद्ध रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाको अनुसार यस क्षेत्रमा बुधबार राति पनि भारी वर्षाको सम्भावना रहेको र अझै केही समय प्रकोपको सम्भावना देखिएकाले सचेत रहन गाउँपालिकावासीलाई आग्रह गरेको छ । 

वर्षा केही क्षण रोकिए पनि सडकमा ढुङ्गा झर्ने, लेदो बग्ने, रुख ढल्ने लगायतका अवरोधहरू आउन सक्ने भएकोले अत्यावश्यक अवस्थामा सुरक्षा सावधानी अपनाएर बाहेक सामान्यतया जोखिमपूर्ण सडकहरू प्रयोग नगर्न गाउँपालिकाले भनेको छ । साथै खोलाहरूमा सकेसम्म नपस्ने, सम्भव भएसम्म झोलुङ्गे पुलको प्रयोग गर्नेलगायतका सुरक्षाका उपाय अपनाउन सुझाउँदै मनसुनजन्य विपत्बाट हुन सक्ने क्षति न्यूनीकरणमा सहयोग गरिदिनसमेत गाउँपालिका कार्यालयले आग्रह गरेको छ । 

पहिरोका कारण दुवै सडक अवरुद्ध बनेसँगै स्थानीयलाई आवागमनमा समस्या भएको छ ।