गजेन्द्र गुरुङ
खजुरा, भदौ ५ गते । जिल्ला प्रहरी कार्यालय बाँकेले गत साउन महिनामा विभिन्न अपराधसम्बन्धी एकसय ४३ वटा मुद्दा दर्ता गरेको छ । विभिन्न मुद्दामा संलग्न ती अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको प्रहरीले जाएको छ ।
बाँके प्रहरीका अनुसार गत साउन महिनामा प्रहरीले विभिन्न अपराधसम्बन्धी एक सय ४३ वटा मुद्दा दर्ता गरेको छ । त्यसैगरी २७ वर्ष ३ महिना १३ दिन कैद सजाय तोकिएका २५ जना फरार अपराधीलाई पक्राउ गरिएको र उनीहरुबाट दुई लाख ६२ हजार एकसय ६३ रुपियाँ जरिवाना असुल गरिएको छ ।
यस समयावधिमा ४३ वटा पेण्डिङ मुद्दाहरु फर्छयौट गरिएको छ । तीनसय ६२ वटा ठाडो उजुरी दर्ता भएकोमा तीनसय एक वटा उजुरी फर्छयौट गरिएको र ६१ वटा उजुरी फर्छयौट प्रक्रियामा रहेको छ ।
साउन महिनामा मात्र हराएका तीन थान मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको, आफूलाई डिएसपी हुँ भनी ठगी गर्दै हिँड्ने एक व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको तथा स्रोत नखुलेको नगद रकम २४ लाख रुपियाँसहित पाँच जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।
लागूऔषध ओसार–पसारविरुद्ध योजनाबद्धरुपमा प्रहरी परिचालन गरी ८५ ग्राम १०० मिलिग्राम ब्राउनसुगर, नाइट्राजेपाम १६५ ट्याब्लेट, ट्रामाडोल ७३ ट्याब्लेट लागुऔषधसहित ओसार–प्रसारमा संलग्न ४४ जनालाई कानुनी दायरामा ल्याइएको छ ।
प्रहरीले ५० लाख १२ हजार दुईसय ५० रुपियाँ बराबरको अवैध भन्सार छलीको सामान, दुई वटा जीप र एउटा मोटरसाइकल र संलग्न एक जना व्यक्तिलाई पक्राउ गरी कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको जनाएको छ ।
प्रहरीका अनुसार ट्राफिक कारवाहीतर्फ दुई हजार ७ सय ४२ वटा सवारी साधनलाई कारवाही गरी २१ लाख ४८ हजार रुपियाँ राजस्व सङ्कलन गरिएको छ । अवैधरुपमा भारतबाट ल्याइएका एक लाख ६० हजार रुपियाँ बराबरको एक हजार ६सय वटा ब्रोइलर कुखुराका चल्ला बरामद गरी आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज पठाइएको छ ।
महिला बालबालिकासँग सम्बन्धित अपराध अनुसन्धान–कारवाहीतर्फ १२ वटा मुद्दा दर्ता भएकोमा संलग्न नौ जनालाई पक्राउ गरिएको छ । प्रहरीकाअनुसार घरेलु हिंसासम्बन्धी ७२ वटा उजुरी दर्ता भएकोमा ५० वटा उजुरीमाथि छानबिन गरी फर्छयौट गरिएको र बाँकी अनुसन्धानका क्रममा रहेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएका सम्बन्धमा १२ वटा निबेदन दर्ता भएको र दुई जना फेला परी अभिभावकको जिम्मा लगाइएको र बाँकीको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।
समुदाय प्रहरी सहकार्यतर्फ लागऔषधसम्बन्धी चार वटा सचेतना, साइबर अपराधसम्बन्धी चार वटा, चोरीसम्बन्धी छ वटा, अल्पसंख्यकसँग प्रहरी कार्यक्रम तीन वटा, वृक्षरोपण दुई वटा लगायतका ३५ वटा सचेतनामूलक कार्यक्रम गरिएको छ । त्यसैगरी लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाइटसहित १४४ वटा ट्राफिकसम्बन्धी सचेतनामूलक विभिन्न कार्यक्रम गरिएको छ ।