• १६ भदौ २०८१, आइतबार

फ्रेस हाउसमा कुहिएका माछामासु

blog

सन्तोष सुवेदी
कास्की, भदौ ४ गते ।
 पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । बजारमा मूल्य वृद्धि, मिसावट र जनस्वास्थ्यमा असर गर्ने गरी मासुजन्य तथा खाद्यन सामग्री बिक्री भइरहेको जनगुनासो आएपछि अनुगमन सुरु गरिएको महानगरले जनाएको छ । गुनासो आएपछि पहिलो चरणमा माछा र मासुमा अनुगमन सुरु गरिएको हो ।

महानगरका उपप्रमुख एवम् बजार अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा पोखराको श्रीकम्पलेक्स, सृजनाचोक र पृथ्वीचोकमा रहेका १७ वटा माछा र मासु पसलमा अनुगमन गरेको हो । अनुगमनका क्रममा कुहिएर खाना योग्य नभएको २१९ केजी माछा र खसीको मासु १५ केजी गरी २३४ केजी जफत र उनीहरूलाई जरिवाना गरिएको छ ।

जफत गरिएको माछा र मासु भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीको जैविक डिस्पोजल पीटमा डिस्पोज गरिएको पोखरा महानगर बजार अनुगमन समितिका सदस्यसचिव अनिल कार्कीले जानकारी दिनुभयो । अनुगमनका क्रममा कुहिएको माछा फेला परेपछि उनीहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित गराई जरिवाना गरिएको छ ।

१७ वटामध्य १० वटा माछा पसललाई १५ हजारदेखि ५० हजारसम्म जरिवाना गरिएको छ । जरिवानाबाट दुई लाख ५५ हजार रुपियाँ राजस्व सङ्कलन समेत भएको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा पोखरा महानगरपालिका वडा नम्बर ९ बसपार्कमा सञ्चालन रहेको लाचन फिस सप्लायर्सबाट एक सय केजी, पोखरा ९ बसपार्कमा रहेको माछाको होसल गर्ने राजु फिस हाउसबाट ८० केजी कुहिएको माछा जफत गरी दुवैलाई ५०/५० हजार रुपियाँ जरिवाना गरिएको छ ।

त्यस्तै, पोखरा ८ सृजनाचोकमा रहेको सद्धाम फ्रेस हाउसबाट खान योग्य नभएको आठ केजी माछा र खसीको मासु, जस्मिन फ्रेस हाउसबाट सात केजी खसीको मासु जफत गरिएको थियो भने दुवै पसललाई ३०÷३० हजार रुपियाँ जरिवाना गरिएको छ ।

त्यस्तै, अनुगमन टोलीले पोखरा ८ श्री कम्प्लेक्समा सञ्चालनमा रहेको न्यु रमेश फिस हाउसबाट १३ किलो तीन सय ग्राम सडेको माछा भेटिएको र उक्त माछा जफत गरी २० हजार रुपियाँ जरिवाना गरिएको छ ।

त्यस्तै न्यु सुमन फिस हाउस, सुरज फिस हाउस, नमुना मत्स्य बिक्री केन्द्रलगायत पाँच वटा पसललाई १५ हजारका दरले जरिवाना गरिएको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिनुभयो । अनुगमनमा पसल नवीकरण नभएको, सफाइ नभएको, सिसा, जाली नलगाई बाहिर बेच्ने गरेको, डी फ्रिज नभएको, माछा पसल सञ्चालनका लागि तालिम नलिएको, फोहोर पानीको प्रयोग गरेको, पसल दुर्गन्धित देखिएकाले जरिवाना गरिएको र आइन्दा यस्तो भेटिएमा पसल बन्द गराउने चेतावनी सहित छाडिएको छ ।

माछा तथा मासु बिक्री गर्ने अन्य सात वटा पसललाई मूल्य सूची राख्न, पसल सरसफाइ गर्न, पसल दर्ता गरी मापदण्ड अनुसार सञ्चालन गर्न सुझाव दिँदै पुनः दोस्रो पटक पनि अटेर कारबाही गर्ने सर्तमा छोडिएको छ ।

पोखरा महानगरपालिकामा गुनासो र नेपालीहरूका चाडपर्वहरू पनि सुरुवात भएकाले बजार अनुगमन सुरुवात गरिएको महानगरका उपप्रमुख एवम् बजार अनुगमन समितिका संयोजक मञ्जुुदेवी गुरुङले जानकारी दिनुभयो । विगतमा भएका अनुगमनले बजारमा केही सुधार देखिएको भएपनि सोचे जस्तो नदेखिएको बताउँदै अब नियमित अनुगमन गरिने उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत भीष्मराज अर्यालले माछा पसल दर्दनाक देखियो । उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने देखिएको र उपभोक्ता हकहित संरक्षण ऐन अनुसार कारबाही गरिएको बताउनुभयो । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा(घ) को कसुरमा दफा ३९ बमोजिम कारबाही गरिएको छ ।