सन्तोष सुवेदी
कास्की, भदौ ४ गते । मगर जातिको भाषा, धर्म तथा कला संस्कृतिसम्बन्धी अध्ययन भ्रमण तथा अन्तरक्रिया कार्यक्रमका लागि मिस मगर नेपाल २०२४ का प्रतियोगीहरु स्याङ्जाको चित्रे पुगेका छन् ।
एसटी क्रियसन म्यानेजमेन्ट प्रालीको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा हुने मिस मगर समुदायको भाषा, तथा संस्कृतिसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि स्याङ्जाको चित्रेमा कार्यक्रम आयोजना गरिएको हो ।
ग्राण्ड फिनालेका लागि छनोट भएका ११ जना प्रतिस्पर्धीसहित पोखराबाट मगर समुदायको भाषा, कला, संस्कृतिको अध्ययनका लागि स्याङ्जाको चित्रेमा अध्ययन भ्रमण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको टिम संयोजक प्रियन्का गर्बुजा मगरले जानकारी दिनुभयो ।
नेपाल मगर सङ्घ गण्डकी प्रदेशका उपाध्यक्ष एवम् भ्रमण संयोजक पवित्रा थापा मगरले मगर समुदायको भाषा, संस्कार–सस्कृति बुझाउन सहयोग पुर्याउने उद्देश्यले चित्रे गाउँलाई रोजेको बताउनुभयो ।
एसटी क्रियसन म्यानेजमेन्ट एवम् मिस मगर नेपालका निर्देशक सुरज थापा मगरले मगर युवतीहरुको नेतृत्व विकाससँगै भाषा, संस्कृति, इतिहास बुझाउन प्रतियोगिताहरु आयोजना गर्दै आएको बताउनुभयो । मिस मगर नेपाल २०२४ को ग्राण्ड फिनाले भदौ २२ गते होटल पोखरा ग्राण्डमा हुँदै छ ।