• १६ भदौ २०८१, आइतबार

बगुबनमा आतङ्क मच्चाएको बाघ नियन्त्रणमा

blog

नियन्त्रणमा लिईएको बाघ । तस्बिर : गोरखापत्र

बोमलाल गिरी

नवलपुर, भदौ ३ गते । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा आतङ्क मच्चाएको बाघलाई नियन्त्रणमा लिइएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख अविनाश मगरका अनुसार बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले मदरबाबा सामुदायिक वनबाट डार्ट गरेर नियन्त्रणमा लिएको हो ।

गत साउन ३२ गते बाघ विनयी त्रिवेणी गाउँपालिका वडा नं १ मा रहेको बगुबनको बस्तीमा पसेर स्थानीयलाई आतङ्कित बनाएको थियो । बाघले बगुबनमा दुईवटा बाख्रा र एउटा भैँसीलाई आक्रमण गरेर मारेको थियो । 

बस्तीमा पसेर चौपायालाई आक्रमण गरेको बाघ नजिकैको मकै बारीमा पसेपछि स्थानीय त्रसित बनेका थिए । मकै बारीमा लुकेको बाघलाई प्रहरीले त्यसै दिन मदरबाबा सामुदायिक वनतर्फ धपाएको थियो ।

अन्दाजी ६/७ वर्षको भाले बाघ अर्को बाघसँग लडेर घाइते भएको मगरले बताउनुभयो ।  जङ्गलमा घाइते भएको बाघ बस्ती छिरेको थियो । निकुञ्जको टोलीले साउन ३२ गतेदेखि निरन्तर बाघलाई नियन्त्रणमा लिन प्रयास गरेको भए पनि आज मात्रै सफल भएको हो ।

बाघ नियन्त्रणमा लिन राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोली खटिएको थियो । अर्को बाघसँग जुध्ने क्रममा उक्त बाघको शरीरको पछिल्लो भागमा चोट लागेको मगरले बताउनुभयो । चितवनको सौराहा लगेर उपचार गरेपछि बाघलाई निकुञ्जमै छाडिने उहाँको भनाइ छ ।