बैतडी समाचारदाता
बैतडी, भदौ ३ गते । स्थानीय तहको पुनर्संरचनाका बेला राजनीतिक पहुँच नपुग्दा विजयपुरवासीको यात्रा सुगमतिर भन्दा दुर्गमतिर मोडिएको छ । नगरपालिकाको सेवा लिन पुर्चौडी नगरपालिका–१० का विजयपुरवासी एक दिनको पैदल बाटो हिँड्दै आएका छन् ।
नगरको सेवाबाहेक हाटबजार, क्याम्पस, औषधी उपचारका लागि भने एक घण्टाको दुरीमा रहेको छिमेकी गाउँपालिकाबाट सजिलै प्राप्त हुन्छ । स्थानीय तहको पुनर्संरचनाका बेला साबिकको विजयपुर गाविसलाई १० नम्बर वडामा गाभिएपछि सुगमबाट दुर्गमतर्फ मोडिएको हो ।
विजयपुरका स्थानीय दैनिक उपभोग्य वस्तु किनमेल, कृषि उपज बिक्री गर्न दोगडाकेदार गाउँपालिकाको सिल्लेगाडा बजार आउने गरेका छन् । विजयपुरवासी जिल्ला सदरमुकाम, प्रदेश राजधानी धनगढी र काठमाडौँ जान पनि दोगडाकेदार गाउँपालिकाकै सिल्लेगाडा बजार झर्ने गरेका छन् ।
स्थानीय तहको पुनर्संरचनाका बेला नेताहरूले आआफ्ना पकड क्षेत्रका आधारमा गाउँपालिका/नगरपालिका बनाउँदा अधिकांश वडाका स्थानीयलाई सुगमतिरबाट दुर्गमतिर जान बाध्य बनाइएको नागरिक अगुवा कर्णदयाल सोडारी बताउनुहुन्छ ।
पुर्चौडी नगरपालिका–१०, सिगास गाउँपालिका–१, मेलौली नगरपालिका–३ को साबिकको दुर्गास्थान, सुर्नया गाउँपालिका–१ को हटैराजलगायतका वडाका स्थानीयलाई जिल्ला सदरमुकाम पुग्न सजिलो छ तर आफ्नै पालिका कार्यालयमा पुग्न कठिनाइ छ ।
विजयपुरवासीलाई दोगडाकेदार गाउँपालिका र सदरमुकामको दशरथचन्द नगरपालिका पुग्न सुगम र सजिलो भए पनि त्यसो हुन नसक्दा कष्ट भोग्नु परेको स्थानीय बताउँछन् ।
नगरपालिकाको सेवाबाहेक दैनिक उपभोग्य वस्तु किनमेल गर्न एक घण्टा गाडीको यात्रा गरेर महाकाली लोकमार्गमा रहेको छिमेकी दोगडाकेदार गाउँपालिकाको सिल्लेगाडा बजार आउने गरेका छन् । नगरपालिकाभन्दा गाउँपालिकाको केन्द्र नजिकको मुख्य हाटबजार डेढ घण्टामै पुगिन्छ । जिल्ला सदरमुकाम पनि अढाई घण्टाको दुरीभन्दा टाढा छैन । जयपृथ्वी लोकमार्गको पक्की सडकसँग जोडिएको सिगास गाउँपालिका–१ का स्थानीय पनि गाउँपालिका पुग्न एक दिनको पैदल हिँड्दै आएका छन् । जब कि आधा घण्टामा पाटन नगरपालिका र अढाई घण्टामा सदरमुकाम सजिलै पुगिन्छ ।
घर गाउँमा, खेत नगरमा
सिगास गाउँपालिका–१ र पाटन नगरपालिका–१० का स्थानीयको घर गाउँपालिकामा र खेत नगरपालिकामा परेको छ । सिगास–१, बेसरा, अङ्गडेगाडा, दाब, बल्लेकाना, जुकेपानी गाउँका विद्यार्थीले अध्ययन गर्ने विद्यालय, गौरापर्व मनाउने मन्दिर र चिहानघाट नगरपालिकामा परेको छ ।
पाटन–१०, बाडीखानाका किसानको ढणारीखेत सिगास गाउँपालिका–१ मा परेको छ । जग्गाको मालपोत कर बुझाउन सिगास गाउँपालिका जानु पर्दा स्थानीयले सास्ती भोग्नु परेको पाटनका लोकेन्द्र ऐरीले बताउनुभयो ।
पाटन–१० र सिगास–१ का स्थानीयको धार्मिक, सांस्कृतिक र स्थानीय चाडपर्व मनाउने कार्यमा फाटो आएको वडाध्यक्ष धनबहादुर कुँवरले बताउनुभयो । गाउँपालिकाले गौरा मनाउन बिदा दिँदा एउटै संस्कृति, मन्दिर र चिहानघाट भएका गाउँ/टोलमा दुई वटा गौरा पर्व मनाउनु परेको थियो ।