राधाकृष्ण डुम्रे
वालिङ, भदौ १ गते । स्याङ्जाको गल्याङमा सुरु भएको ‘गल्याङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ (जिपिएल) मा गल्याङ युनाईटेड र राईजिङ स्टार गल्याङले विजयी सुरुवात गरेको छ ।
शनिबार भएको पहिलो खेलमा गल्याङ युनाईटेडले कालीगण्डकी वारियरलाई तीन विकेटले हरायो । एक सय ६६ रनको विजय लक्ष्य पछ्याएको युनाईटेडले अन्तिम ओभरमा लक्ष्य भेटाएको हो ।
अर्को खेलमा राईजिङ स्टार गल्याङ विजयी भएको छ । राईजिङले गल्याङ ईगल्सलाई ७२ रनले हरायो । राईजिङले दिएको दुई सय ७६ रनको लक्ष्य पच्छ्याएको ईगल्सले निर्धारित २० ओभरमा दुई सय चार रन मात्र बनाउन सक्यो ।
गल्याङ क्रिकेट सङ्घको आयोजनामा शुक्रबारबाट सुरु भएको प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् ।