• २६ भदौ २०८१, बुधबार

गण्डकीको प्रेस रजिष्ट्रारमा पाँच जनाको आवेदन

blog

लेखनाथ, साउन ३१ गते। गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारमा पाँच जनाले आवदेन दिएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रेस रजिष्ट्रार नियुक्तिका लागि १५ दिनभित्र आवेदन दिन १६ साउनमा सूचना जारी गरेको थियो। 

आवेदन दिने अन्तिम दिन बुधबारसम्म पाँच जनाको आवेदन परेको छनोट समितिका सदस्य सचिवसमेत रहनुभएका मुख्यमन्त्री कार्यालयका सचिव केशवराज ढकाल जानकारी दिनुभयो। प्रेस रजिष्ट्रारमा भानु पराजुली, भरत कोइराला, विमला भण्डारी, दुर्गा अधिकारी र सरिता तिम्सिना पगेनीले आवेदन दिनुभएको छ। 

अब उम्मेदवारको व्यावसायिक कार्ययोजना प्रस्तुतिकरणसँगै अन्तर्वार्तामा हुने सदस्य सचिव ढकालले उल्लेख गर्नुभयो। गण्डकी प्रदेश आमसञ्चार ऐन २०८० बमोजिम प्रेस रजिष्ट्रार नियुक्ति गर्न लागिएको हो। प्रेस रजिष्ट्रारको कार्यकाल चार वर्षको हुनेछ। “हिजो(बुधबार)सम्म आवेदन दिने समय थियो, अब केही दिनमा व्यावसायिक कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ता हुन्छ। समितिले तीन जनाको नाम सिफारिस गर्छ,” ढकालले भन्नुभयो।

 ३५ वर्ष पूरा भएर ६० वर्ष ननाघेको, मान्यता प्राप्त विश्वविद्यालयबाट पत्रकारिता, आमसञ्चार, सूचना प्रविधि र कानुनमध्ये कुनै एकमा स्नातकोत्तर गरेको, पत्रकारिता, आमसञ्चार, सूचना प्रविधि र कानुनमध्ये कुनै एक विषयमा कम्तीमा १५ वर्षको अनुभव भएकाले आवेदन दिन पाउने ऐनमा व्यवस्था छ। 

गण्डकीका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङको संयोजकत्वमा गठित तीन सदस्यीय छनोट समितिले पाँच जनाबाट तीन जनाको नाम सिफारिस गर्ने छ। समितिमा पत्रकार बास्तोला विज्ञ सदस्य हुनुहुन्छ। 

सिफारिस गरिएका तीन जनाबाट मन्त्रिपरिषद्ले प्रेस रजिष्ट्रार नियुक्त गर्ने छ। गण्डकीमा प्रदेशको ११ औँ दशका कर्मचारी अर्थात् प्रदेश सचिवसरहका प्रेस रजिष्ट्रार हुने प्रावधान छ।