• ३१ भदौ २०८१, सोमबार

अष्ट्रेलियामा बेपत्ता सुभाषको खोजविन गर्न राजदूतसँग आग्रह

blog

सम्पर्कविहीन सुभाष बोलखे । तस्बिर : रासस

काभ्रेपलाञ्चोक, साउन ३० गते । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँग नौ महिनाअघि अष्ट्रेलियामा हराएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-७ का एक युवाको खोजविन गर्न आग्रह गरिएको छ । 

२७ वर्षीय सुभाष बोलखे सिड्नी सहरबाट १८ दिनदेखि परिवारसँग सम्पर्कविहीन हुनहुन्छ । पाँचखालका नगरप्रमुख महेश खरेलले सुभाषका बुवासहित परिवारका सदस्य लिएर राजदूतसँग आज औपचारिक भेट गरी खोजविनका लागि आग्रह गर्नुभएको हो । सुभाषको पछिल्लो अवस्थाबारे जानकारी लिई खोजतलास गर्न राजदूतसँग विशेष आग्रह गरिएको नगरप्रमुख खरेलले बताउनुभयो । 

“राजदूतले तत्काल जनशक्ति परिचालन गरी खोजविन गर्न लगाउने आश्वासन दिनुभएको छ, हामी आशावादी भएका छौँ”, उहाँले भन्नुभयो । बुवा सुदर्शन बोलखेकानुसार अध्ययनका लागि अष्ट्रेलिया गएका कान्छा छोरा सुभाष सिड्नी सहरमा नौ महिनादेखि एक्लै बस्दै आएकामा १८ दिनदेखि सम्पर्कविहीन छन् ।

राजदूतसँगको भेटपछि केही आशा पलाएको उहाँले सुनाउनुभयो । नगरप्रमुख खरेलले राजदूतलाई सुभाषको कागजातसहित निवेदन दिनुभएको थियो । बोलखे परिवारले पनि सुभाषको खोजविनमा सहयोग गर्न सिड्नीस्थित नेपाली तथा त्यहाँका निकायसँग आग्रह गर्दै आएको छ । रासस