लीलाधर वली
घोराही, साउन २९ गते । दाङको गढवा गाउँपालिका–४ निवासी प्रेमलाल चौधरीले यस वर्ष पनि रोपाइँ गर्न आकासे पानी नै पर्खनु पर्यो । कुलोमा पानी नआउँदा उहाँले आकासे पानीकै भर पर्नु परेको हो ।
चौधरीले भन्नुभयो, “राप्तीको पानीले सिँचाइ गरौँला भनेर पर्खिएको १२ वर्ष भइसक्यो । अझै पानी चलेको छैन । वर्षामा त खेती गर्न आकासे पानी पर्खनु पर्छ । हिउँदमा हाम्रो अवस्था के होला ?”
राप्ती नदीको दक्षिण किनारबाट बड्कापथ सिँचाइ आयोजनाको निर्माण सुरु भएको एक दशकभन्दा बढी भए पनि निर्माणको कामले गति लिन सकेको छैन । अहिले पनि मूल नहर बनाउने काम चलिरहेको छ । ३० किलोमिटर लामो नहर निर्माण गर्ने योजना रहे पनि अहिलेसम्म करिब साढे आठ किलोमिटर नहर मात्र निर्माण भएको छ ।
बड्कापथ सिँचाइ आयोजना मूल समन्वय समितिका अध्यक्ष रघुनन्दन चौधरीका अनुसार नहर निर्माणको काम साढे १४ किलोमिटर क्षेत्रमा चलिरहेको छ । अबको तीन वर्षभित्र आयोजनाको काम सम्पन्न गर्नुपर्ने समयसीमा छ तर बिचमा मूल नहर क्षेत्रमा पर्ने रुख नहटाउँदा निर्माण कार्य सुस्ताएको थियो । अहिले भने नहर क्षेत्रमा पर्ने रुख हटाउन थालिएकाले आयोजनाको निर्माण कार्यले गति लिन थालेको छ । आयोजना अन्तर्गत कुलपानी सामुदायिक वन क्षेत्रमा २८६ वटा रुख कटान गरिएको छ । मूल नहर विस्तार गर्दा ती रुखले आयोजनाको काम प्रभावित भएको थियो ।
आयोजना क्षेत्रभित्र पर्ने करिब तीन हजार सात सय रुख हटाउनुपर्ने थियो । कुलपानी सामुदायिक वनसहित लक्ष्मी, लखपति, शान्ति र महदेवा सामुदायिक वन क्षेत्रबाट रुख हटाउनुपर्ने देखिएको छ । राप्ती नदीको पानीले साढे चार हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु¥याउने योजनाका साथ आर्थिक वर्ष २०६८/६९ बाट बड्कापथ सिँचाइ आयोजनाको निर्माणको काम सुरु भएको थियो ।
सिँचाइ नहर निर्माणका लागि हालसम्म करिब ७३ करोड रुपियाँ खर्च भइसकेको छ । गत वर्ष मात्रै कार्यालयले २७ करोड ५० लाख रुपियाँ निर्माणको काममा खर्च गरेको र चालु आवका लागि २४ करोड रुपियाँ बजेट प्राप्त भएको प्रगन्ना तथा बड्कापथ सिँचाइ आयोजनाका इन्जिनियर रामपुकार शाहले बताउनुभएको छ ।
निर्माणको कामले पछिल्लो समय गति लिएको भन्दै इन्जिनियर शाहले भन्नुभयो, “फिल्डमा देखिएका समस्या समाधान भइरहेका छन् । अब पर्याप्त बजेट भएमा निर्धारित समयभित्र काम सम्पन्न हुने छ ।” बड्कापथ सिँचाइ आयोजनाको बनिसकेको मूल नहरमा पानी परीक्षण गरिएको छ । एउटा ढोका खोलेर आयोजनाको मूल नहरमा पानी परीक्षण गरिएको हो । बडहरा गाउँसम्म पानी लग्न सकिने भएको छ ।
इन्जिनियर शाह अब बडहरासम्मका क्षेत्रमा सिँचाइ गर्न सकिने बताउनुहुन्छ । उहाँका अनुसार अहिले आयोजना अन्तर्गत वनघुस्रीसम्मको जमिन सिँचाइ हुने गरी पानी सुचारु गर्न सकिन्छ । नहरको विस्तार कार्य महदेवासम्म पुगेको छ ।
गढवा गाउँपालिकाभित्रका जमिन सिँचाइ गर्ने उद्देश्यले चलिरहेको बड्कापथ सिँचाइ आयोजना सबैभन्दा ठुलो सिँचाइ आयोजना हो । यो परियोजना सञ्चालनमा आएको खण्डमा गढवा गाउँपालिकाभित्रका धेरै जमिनमा सिँचाइ सुविधा पुर्याउन सकिने, खाद्यान्न तथा तरकारी उत्पादन बढाउन सकिने विश्वास गरिएको छ । कृषि उत्पादन बढाउने र त्यसले नागरिकको जीवनस्तर उकास्न सहयोगी बन्ने स्थानीय बताउँछन् ।