• १३ असोज २०८१, आइतबार

देउखोला–नायगाड–त्रिवेणी सडकको सम्झौता रद्द

blog

रुकुमपूर्व समाचारदाता 

रुकुमपूर्व, साउन २८ गते ।  यहाँको पुथाउत्तरगङ्गा गाउँपालिका–१४, देउखोला–सिस्ने गाउँपालिका–२ नायगाड–पुथाउत्तरगङ्गा त्रिवेणी सडकखण्डमा ठेकेदारसँग निर्माण सम्झौता तोडिएको छ । पटक पटक म्याद थप गर्दा समेत ठेकेदारले समयमै काम गर्न नसकेपछि देउखोला–नायगाड–त्रिवेणी सडकखण्डको ठेक्का तोडिएको हो । 

ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) द्वारा यो सडकखण्डको सडक निर्माण भइरहेको छ । २०७५ असोज महिनामा आरसिआइपीले पिएच/शङ्कर माली जेभीसँग यस खण्डको सडक निर्माणका लागि सम्झौता गरेको थियो । छ वर्षसम्म पनि काम गर्न नसकेपछि बाध्य भएर ठेकेदारसँग ठेक्का तोड्नु परेको ग्रामीण सडक सञ्जाल सुधार आयोजना रुकुमपश्चिमका प्रमुख रामआशिष शाहले जानकारी दिनुभयो । यो अवधिमा आठ पटक म्याद थप गर्दा समेत ठेकेदारले काम गर्न नसकेको शाहले बताउनुभयो । 

ठेक्का लिएर सडक अलपत्र पारेपछि गएको असार १९ गते ठेक्का तोडिएको शाहले बताउनुभयो । पुरानो ठेकेदारसँग ठेक्का तोडेर नयाँ ठेक्काका लागि प्रक्रिया थालिएको उहाँको भनाइ रहेको छ । 

यस खण्डको सडक निर्माणमा नेपाल सरकार र एसियाली विकास बैङ्कको लगानी रहेको छ । २८ करोड ६९ लाख २८ हजार रुपियाँ बजेटमा देउखोला–नायगाड–त्रिवेणी सडकखण्डको ११.६ किलोमिटरमा ट्र्याक खोलेर कालोपत्रे गर्ने गरी ठेकेदारले जिम्मा पाएको थियो तर ११.६ किलोमिटर खण्डमा अझै चार किलोमिटर देउखोला–नायगाड–मानम खण्डमा ट्र्याक खोल्न बाँकी नै रहेको छ । ट्र्याक खोलिएको ७.६ किलोमिटर त्रिवेणी–जामाबगर–मानम खण्डको अधिकांश ठाउँमा कालोपत्रे तयारीका लागि नाली काट्ने, पर्खाल लगाउने काम गरिएको छ भने बाँकी काम अलपत्र अवस्थामै रहेको छ । 

जिल्लाको उत्तरी क्षेत्रका बासिन्दाका लागि यो मुख्य सडक हो । यो सडकले पूर्णता पायो भने सिस्ने गाउँपालिका–१, २ सँगै पुथाउत्तरगङ्गा गाउँपालिका–७, ८, ९ र १४ सडक सञ्जालको पहुँचमा पुग्ने छन् । यो खण्डको सडक निर्माण नहुँदा सिस्ने र पुथाउत्तरगङ्गा गाउँपालिकाका उत्तरी क्षेत्रका बासिन्दाले सास्ती खेपिरहेका छन् । 

यो खण्डको सडक लामो समयदेखि ठेकेदारले काम नगरेपछि यसको बदनामी जनप्रतिनिधिले खेप्नु परेको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । अध्यक्ष रेग्मीले भन्नुभयो, “आयोजनाले काम नगर्ने ठेकेदारको ठेक्का तोडिएको छ, खुसी लाग्यो । अब नयाँ ठेक्कामार्फत नयाँ ठेकेदार आएर पक्कै काम गर्छ भन्ने लागेको छ ।” 

यस खण्डको सडक निर्माण भएमा उत्तरी क्षेत्रको व्यापार व्यवसायलाई ठुलो सहयोग पुग्ने अध्यक्ष रेग्मीले बताउनुभयो । हाल सडक निर्माण नभएकै कारण देउखोलानजिकैको भालुखाप्चे भिरमा पहिरोले पदमार्ग बगाएपछि यहाँका स्थानीय डोरीको सहारामा आउजाउ गर्न बाध्य भएका छन् । देउखोला–नायगाड खण्डमा पहराको भिरैभिर भएकाले पदमार्ग पनि सधैँ जोखिमपूर्ण रहेको छ ।