• १३ असोज २०८१, आइतबार

संसदीय छानबिन समिति,जेलमा रहेका शर्मासँग बयान

blog

काठमाडौँ, साउन २७ गते । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासँग सोधपुछ गरेको छ । विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीका अनुसार सहकारीको अपचलनमा मुद्दा परेपछि नख्खु जेलमा रहेका अध्यक्ष शर्मासँग समितिको बैठकमै ल्याएर सोधपुछ गरिएको हो । 

यसअघि विशेष समितिले सोधपुछ गर्ने व्यक्तिको प्रारम्भिक नामावली तयार गरी व्यवस्थापन मिलाउन सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको थियो । समितिको सोधपुछका लागि साझा र विशेष प्रश्नको तयारी गर्ने निर्णयका साथ साझा प्रश्न प्रस्तुत भई छलफलपछि पारित गरेको थियो । 

समितिले सहकारी संस्थाका २० सञ्चालक फरार रहेको र तत्काल सम्पर्कमा आउन सूचित गरिसकेको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणबारे छलफल र छानबिनका लागि अध्यक्ष गीतेन्द्रबाबु राईलाई सम्पर्कमा आउन समितिले सूचित गरेको थियो तर उनी अझै फरार छन् । समितिले २९ वटा सहकारी संस्थाको छानबिनका लागि कार्यादेश पाएको छ । 

शर्माको सहकारी ठगी शृङ्खला

भक्तपुरको शिवशिखर बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष केदारनाथ शर्माले आफ्नी पत्नीका नाममा जग्गा कारोबारको साम्राज्य खडा गरेर अपचलन गरेको देखिएको छ ।

सहकारीमा बचतकर्ताले राखेको बचत रकम अध्यक्ष शर्माले पत्नी गीता शर्माको नाममा खडा गरिएका कम्पनी र जग्गामा लगानी गरेका हुन् । शिवशिखरका वर्तमान अध्यक्ष सुशीलचन्द्र बानियाँ हुन् । 

सहकारीको बचतलाई अध्यक्ष शर्माले पूर्वमा मोरङदेखि पश्चिममा दाङसम्म गरी शिवशिखर सहकारीका ४३ वटा शाखा कार्यालयमार्फत करोडौँ रकम अपचलन गरेका हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका अनुसार अध्यक्ष शर्मा र उनकी पत्नी गीताका नाममा रहेको सबै सम्पत्ति रोक्का गरी अनुसन्धान अघि बढाइएको थियो ।