मलङ्गवा (सर्लाही), साउन २६ गते । सर्लाहीको बरहथवा नगरपालिका-८ टाँडीमा आज एक युवक मृत फेला परेका छन् । टाँडी निवासी श्यामबाबु साहका छोरा १९ वर्षीय मुन्ना साह मृतावस्थामा फेला परेको सर्लाही प्रहरीले जनाएको छ ।
गाउँ नजिकै शैलेन्द्र रामको परालको भुस्सा राख्ने घरमा युवक मृत फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिनुभयो । मृतक मुन्नाको घाँटीमा चोट देखिएकाले घटना शङ्कास्पद रहेको उहाँले बताउनुभयो । मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ पठाएको छ ।
घटनाका विषयमा अनुसन्धानका लागि एक युवतीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलिष्टर सिंहले जानकारी दिनुभयो । यस्तै, सर्लाहीको चक्रघट्टा गाउँपालिका-३ सुन्दुरपुरस्थित ढाङ्ग्राखोलामा डुबेर एक नबालकको मृत्यु भएको छ । स्थानीय सञ्जीव रायका तीन वर्षीय छोरा अंशु रायको खेल्ने क्रममा आज घर नजिकको ढाङ्ग्राखोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलिष्टर सिंहले जानकारी दिनुभयो ।
खोलामा डुबेका बालकलाई उद्धार गरी आज दिउँसो १ बजे प्रादेशिक अस्पताल मलङ्गवामा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक नबालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको प्रहरीले जनाएको छ । रासस