• १२ असोज २०८१, शनिबार

उद्योगमन्त्री भण्डारीद्वारा श्यामप्रसाद मुखर्जी पोर्टको अवलोकन

blog

उद्योग, वाणिज्य तथा आपर्तिमन्त्री दामोदर भण्डारी । फाइल तस्बिर

काठमाडौँ, साउन २६ गते । उद्योग, वाणिज्य तथा आपर्तिमन्त्री दामोदर भण्डारीले आज भारतको हल्दियास्थित श्यामप्रसाद मुखर्जी पोर्टको अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा उहाँले पोर्टका पदाधिकारीहरूसँग नेपालको पारवहन व्यापार प्रक्रिया सहजीकरण तथा लागत कम गर्ने विषयमा छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । 

अवलोकन भ्रमणमा वाणिज्य मन्त्रालयका द्विपक्षीय शाखा हेर्ने सहसचिव बाबुराम अधिकारी तथा कलकत्तास्थित महावाणिज्य दूतावासका पदाधिकारीलगायत उपस्थिति थियो । तेस्रो मुलुकसँगको व्यापारमा देखिएका प्रक्रियागत समस्या, आयातकर्ता र निर्यातकर्ताका समस्याका विषयमा जानकारी लिई कलकत्तास्थित महावाणिज्य दूतावास तथा गोदाम कम्पनी लिमिटेडलाई सहजीकरण गरी परिणाममुखी भएर काम गर्न मन्त्री भण्डारीले निर्देशन दिनुभयो । 

उहाँले नेपाल पारवहन तथा गोदाम कम्पनी लिमिटेडले हल्दिया पोर्ट इन्टेरियर जोनभित्र दीर्घकालीन रूपले भाडामा लिएको जमिनको उपयोग, थप सम्भावना एवम् औचित्यबारे गहन छलफल गरी कम्पनीको कार्यालय अनुगमन गर्दै आवश्यक निर्देशन दिनुभयो । यस अवसरमा पोर्टका डेपुटी अध्यक्ष सम्राट् राहीले मन्त्री भण्डारीको स्वागत गर्नुभएको थियो । रासस