• ९ मंसिर २०८१, आइतबार

न्यून गुणस्तरको दुध बिक्री भएपछि कडाइ

blog

बुटवलमा बिक्री भइरहेको दुधको अनुगमन गर्दै बुटवल उपमहानगरको टोली । तस्बिर : छविलाल पाण्डे

छविलाल पाण्डे
बुटवल, साउन २६ गते । 
सरकारले तोकेको गुणस्तर मापदण्ड विपरीत बजारमा दुध बिक्री हुने गरेको पाइएपछि बुटवल उपमहानगरपालिकाले कडाइ गरेको छ ।

गत सातामात्रै बुटवल बजारमा गुणस्तर मापदण्डभन्दा विपरीत दुध बिक्री भइरहेको सार्वजनिक भएको थियो । बुटवल उपमहानगरले गरेको अनुगमनमा व्यवसायीले दुधमा अत्यधिक मात्रामा पानी मिसाएर बेच्ने गरेको पाइएको हो ।

सरकारले भैँसीको दुधमा न्यूनतम फ्याट ५ प्रतिशत, एस.एन.एफ. ८, गाईको दुधमा ३.५ प्रतिशत फ्याट, एस.एन.एफ. ७ र मिक्स दुधमा ३.५ प्रतिशत फ्याट र एस.एन.एफ.को मात्रा ८ तोकेको छ । तर बुटवलको बजारमा अति न्यून १.८ प्रतिशत फ्याट भएको दुध बिक्री हुने गरेको पाइएको हो ।

बुटवल उपमहानगरले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्राविधिक टोली र उपभोक्ता हित संरक्षण मञ्चको उपस्थितिमा गरेको अनुगमनमा अत्यधिक मात्रामा पानी मिसाएर वा फ्याट झिकेर दुध बेच्ने गरेको पाइएको हो ।

अनुगमन टोलीले बुटवलमा दुध वितरण गर्ने उद्योग, दुध वितरण गर्ने सहकारी र डेरीका १० वटा नमुना सङ्कलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको प्रयोगशालामा परीक्षण गरेको थियो ।

१० वटै नमुनाको प्रयोगशालामा परीक्षण गर्दा नतिजा फेल आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षक दीपक कुमार यादवले जानकारी दिनुभयो । दुधबाट फ्याटको मात्र झिकिएको वा पानी मिसाएर बेच्ने गरेको पाइएको उहाँले बताउनुभयो । दुधको गुणस्तरमा कमी आएको गुनासो आउन थालेपछि बुटवल उपमहानगरले पछिल्लो समय डेरीको अनुगमनलाई तीव्रता दिएको छ ।

बुटवल उपमहानगरका उपप्रमुख सावित्रीदेवी अर्यालले बुटवलमा बिक्री हुने दुधको अवस्थाका विषयमा पहिले डेरी व्यवसायलाई सचेत गराउँदै अनुगमन गर्ने र मापदण्डभन्दा विपरीत पाइए तत्काल कारबाही गर्ने बताउनुभयो ।

अहिले १० वटा डेरीको दुधको नमुना सङ्कलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाएको र कुनै कैफियत भेटिए तत्काल कारबाही गरिने उहाँको भनाइ छ । उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले दुधको मूल्यमा एकरूपता कायम हुन नसकेको बताउनुभयो । पसलै पिच्छे दुधको मूल्य फरक रहेको उहाँको भनाइ छ । 

व्यवसायी र उपभोक्तालाई सचेत गराउनका लागि अहिले माइकिङ गरिएको र अनुगमनका क्रममा मापदण्डभन्दा विपरीत दुध बेचेको पाइए तत्काल कारबाही गरिने उहाँले चेतावनी दिनुभयो । उपमहानगरले मापदण्डभन्दा विपरीत दुध बेच्नेलाई १० हजारसम्म जरिवाना लिन सक्ने व्यवस्था रहेको जनाएको छ ।