• १२ असोज २०८१, शनिबार

क्यान्सर अस्पतालमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी

blog

क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवाको सुरुवात गरिदै । तस्बिर : रासस

चितवन, साउन २६ गते । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु गरिएको छ । यो अत्याधुनिक थुलियम फाइबर लेजर (टिएफएल) मेसिन हो ।

अस्पतालका उपनिर्देशक एवम् युरोलोजिष्ट डा.उमेश नेपालले इण्डोयुरोलोजी सेवाको पछिल्लो प्रविधि (लेटेस्ट टेक्नोलोजी) भएकाले सेवाको समयसापेक्ष स्तरोन्नति हुने बताउनुभयो । यसअघि युरोलोजीमा प्रयोग हुने लेजरहरू होल्मियम लेजरको पल्स एमल्सन हुने हुनाले टिस्यु च्यातिने सम्भावना (टिस्यु टिएरिङ इफेक्ट) हुने जनाउँदै उहाँले टिएफएल निरन्तर बीममा निस्किने र टिस्यु च्यातिने समस्या नहुने जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो,“यो प्रविधिबाट शल्यक्रिया गर्दा रक्तस्राव अति नै न्यून हुन्छ । टिस्यु पेनिट्रेसन सबैभन्दा कम हुने हुनाले जोखिम दर अति नै न्यून हुन्छ ।” अस्पतालमा हरेक वर्ष चार सय ५० हाराहारी पिसाब थैलीका क्यान्सर र एक सय हाराहारी प्रोस्टेट क्यान्सरको शल्यक्रिया हुने जानकारी दिँदै डा.नेपालले यस्ता बिरामीका लागि यो प्रविधि निकै लाभदायी हुने बताउनुभयो । 

उहाँले भन्नुभयो, “एन ब्लक रिसेक्सन गर्न मिल्ने भएकाले पुनः शल्यक्रिया गर्नुपर्ने सम्भावना पनि न्यून हुन्छ ।” मेसिन जडान गरेसँगै शुक्रबार पहिलो दिन तीन वटा शल्यक्रिया गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलले आधुनिक उपकरणहरू भित्र्याएर सेवा चुस्तदुरुस्त एवम् बिरामीलाई सहज बनाउने काममा आफूहरू लागि परेको बताउनुभयो । अस्पतालमा देशभर र भारतीय सीमा क्षेत्रबाट बिरामी उपचारका लागि आउने उहाँको भनाइ छ । रासस