• १२ असोज २०८१, शनिबार

सयभन्दा बढी ग्राहक कालो सूचीमा

blog

चरीकोट समाचारदाता

चरीकोट, साउन २६ गते । नेपाल विद्युत् प्राधिकरण, दोलखा वितरण केन्द्रले गत एक वर्षमा महसुल नबुझाउने ७१५ जना ग्राहकको विद्युत् लाइन काटेको छ । गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म समयमै विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्नुका साथै १०८ जना ग्राहकलार्ई कालो सूचीमा राखेको छ । ग्राहकको लाइन काटेर एक आवमा ६२ लाख ७१ हजार ५०६ रुपियाँ विद्युत् महसुल असुल गरेको विद्युत् प्राधिकरण दोलखा वितरण केन्द्रका लेखाप्रमुख माधव प्रसाईले बताउनुभयो । दोलखा वितरण केन्द्र अन्तर्गत ४१ हजार ९९० ग्राहक छन् । 

वितरण केन्द्रले ६० दिन कटेका सेवाग्राहीको लाइन काट्ने अभियान अन्तर्गत विद्युत् लाइन काटेर महसुल उठाइएको उहाँले बताउनुभयो । लाइन काट्न थालेपछि बक्यौता नतिर्ने सेवाग्राहीको सङ्ख्या घट्दै गएको उहाँको भनाइ छ । सुरुमा धेरै रकम बक्यौता भएका सेवाग्राहीको लाइन काटिने र व्रmमशः बक्यौता नतिर्ने सबैको लाइन काटिने वितरण केन्द्रले जनाएको छ । वितरण केन्द्रले कालो सूचीमा राखेका सेवाग्राहीबाट १० लाख ६० हजार ४११ रुपियाँ रकम असुल गरेको छ । 

विद्युत् लाइन काटेको छ महिनासम्म पनि महसुल नबुझाउने सेवाग्राहीलाई कालो सूचीमा राखिने विद्युत् प्राधिकरण दोलखा वितरण केन्द्रका प्रमुख नेत्रमणि न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयसम्म पनि बक्यौता रकम उठ्न नसकेपछि प्राधिकरणले पछिल्लो समय कडाइ गरिरहेको छ ।” विद्युत् महसुल तिर्न आनाकानी नगर्न सेवाग्राहीलाई अनुरोध गर्दै उहाँले महसुल समयमै नतिरे जुनसुकै बेला लाइन काटिन सक्ने बताउनुभयो । वितरण प्रमुख न्यौपानेले अनधिकृत रूपमा विद्युत् प्रयोग गर्नेलाई कालो सूचीमै राख्ने गरी तयारी गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले अनधिकृत रूपमा विद्युत् प्रयोग गर्नेको निगरानी गरिरहेका छौँ । अब पुनः लाइन काट्ने मात्रै हुँदैन मिटर नै जफत गरेर कालो सूचीमा राख्ने गरी तयारी गरेका छौँ ।” 

मिटर जडान भएका ‘सिल’ नलगाई चुहावट गरिएका मिटर ‘रिसिल’ गरिएको छ । मिटर जडान, मिटर रिडिङ तथा महसुल सङ्कलन, विद्युत् चोरी नियन्त्रण, वितरण लाइन विस्तार, वितरण लाइन सुधार, संरचना बनाउने मापदण्ड र लाइनको रुट परिवर्तन र विद्युतीय जोखिम तथा सुरक्षा कार्यव्रmमलाई प्राथमिकताका साथ अगाडि बढाइएको न्यौपानेले बताउनुभयो । 

मिटर रिडिङ भएको सात दिनसम्म दुई प्रतिशत छुटको व्यवस्था छ । १५ औँ दिनसम्म बिल अनुसारको रकम तिनुपर्ने हुन्छ । मिटर रिडिङ भएको १६ औँ दिनदेखि ३० औँ दिनसम्म पाँच प्रतिशतका दरले र ३१ औँ दिनदेखि ४० दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ । मिटर रिडिङ भएको ४० औँ दिनसम्म पनि विद्युत् महसुल नबुझाउने सेवाग्राहीलाई ४१ औँ दिनदेखि २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ । यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६० औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा विद्युत् लाइन काट्ने व्यवस्था छ ।