• १२ असोज २०८१, शनिबार

आँप बगान फाँडेर सोलार प्लान्ट राख्ने तयारी

पर्यावरण अभियन्तालाई चिन्ता

blog

ढल्केबर समाचारदाता

ढल्केबर, साउन २६ गते । धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरमा ८० बिघामा फैलिएको आँपका रुख फँडानी गरेर सौर्य प्लान्ट स्थापना गर्ने तयारी गरेपछि पर्यावरण संरक्षणका क्षेत्रमा कार्यरत सङ्घ संस्था तथा अभियन्ताले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले ठुलो क्षेत्रफलमा रहेको आँपको बगैँचा फँडानी गर्दा पर्यावरण सन्तुलनमा क्षति पुग्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् । 

पर्यावरण संरक्षणका क्षेत्रमा कार्यरत संस्था चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाजका अध्यक्ष अनिलकुमार कर्ण, ओमप्रकाश महतो, दिलीप पर्यावरण संरक्षण प्रतिष्ठानका सचिव फुलगेन मगही र वृक्षमानवका नामले परिचित पर्यावरण अभियन्ता सुरेश शर्मालगायत पर्यावरण अभियन्ता चित्रपुर पुगेर सम्बन्धित किसान र स्थानीय जनप्रतिनिधिलाई भेट्नुभएको  छ । उहाँहरूले आँपको बगैँचा फँडानीको विकल्पका बारेमा सोच्न आग्रह गर्नुभयो । 

चित्रपुरमा असार १४ गते आँपको बजार प्रवर्धन गर्न पहिलो पटक आँप मेलाको आयोजना गरिएको थियो । सोही चित्रपुरमा काठमाडौँ महानगरपालिका–३२, जडीबुटीस्थित जन्दादेवी सोलार प्रालिले सौर्य प्लान्ट स्थापनाको काम अगाडि बढाएको छ । ५० मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने प्लान्ट स्थापनाका लागि १२ जना किसानसँग १६ बिघा जग्गा ३० वर्षका लागि भाडामा लिने सम्झौता गरिसकेको छ । उक्त कम्पनीले २९ असारमा किसानसँग गरेको सम्झौतामा वार्षिक प्रतिकट्ठा आठ हजार रुपियाँ र प्रत्येक दुई वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्ने उल्लेख छ ।

सङ्घीय सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले त्यहाँ कुनै सिँचाइ आयोजना नरहेको भन्दै ती जग्गा सिँचाइ योग्य नरहेको प्रमाणित गरिदिएको छ । त्यस्तै बटेश्वर गाउँपालिका–१ को वडा कार्यालयले साउन १ गते केन्द्र र प्रदेश सरकारका कुनै सिँचाइ आयोजना नभएको भन्दै प्रमाणित गरिदिएको छ ।

जन्दादेवी सोलार प्रालिले लिन खोजेको सबै जग्गामा आँप खेती रहेको वडा नं. १ का वडाध्यक्ष अशोककुमार महतोले बताउनुभयो । उहाँका अनुसार प्रस्तावित सोलार प्लान्टका लागि छनोट गरिएको ८० बिघा जग्गामा अहिले आँपका रुख छन् । 

चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाजका अध्यक्ष कर्णले पर्यावरणीय सङ्कट बढ्दै गएका बेला यति धेरै सङ्ख्यामा रुख कटानको विषयले चिन्तित तुल्याएको बताउनुभयो । 

पर्यावरण अभियन्ता सुरेश शर्माले हरियाली विनाश गरेर सोलार प्लान्ट स्थापना गर्नु उपयुक्त नहुने धारणा व्यक्त गर्नुभयो । किसान पनि समस्यामा परेर सोलार कम्पनीलाई जग्गा भाडामा दिएको बुझिएको बताउँदै उहाँले सरकारले पनि किसानको समस्याको समयमै समाधान  गरिदिनुपर्नेमा जोड दिनुभयो ।  

कतिपय किसानले आँप खेतीमा क्षति हुँदा सरकारले राहत तथा बजार प्रवर्धनको व्यवस्थापनमा चासो नदिएकाले सोलार प्लान्ट स्थापनाका लागि जग्गा दिनुपर्ने बाध्यता भएको बताउनुभयो । स्थानीय किसान नथुनी कुशवाहाले यस पटक आँपले बजार नपाउँदा ठुलो घाटा लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “हावाहुरी र असिनाले कैयौँ पटक आँप खेतीमा क्षति भयो । हामी पीडित किसान राहतका लागि सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउँदै गुहार लगायौँ । मन्त्री, प्रमुख जिल्ला अधिकारी सबै अवलोकन गर्न आउँछन् तर राहत कतैबाट पाइँदैन । त्यसैले यो जग्गा सोलार प्लान्टका लागि दिनु हाम्रो बाध्यता हो ।” सरकार अहिले पनि आँप किसानप्रति गम्भीर भए सोलार प्लान्टलाई यथास्थितिमै रोक्ने किसान कुशवाहाले बताउनुभयो । 

जल्दादेवी सोलार प्रालिका प्रतिनिधि इन्जिनियर अभिषेक पराजुलीले चित्रपुरका आँप किसानले जग्गा दिन मानेपछि प्लान्ट स्थापनाको तयारी गरिएको बताउनुभयो । सौर्य ऊर्जाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्न ढल्केबर सबस्टेसन नजिक भएकाले यो जग्गा चयन गरिएको उहाँले जानकारी दिनुभयो ।