• १२ असोज २०८१, शनिबार

द्रुत बसमा क्षमताभन्दा बढी यात्रु

blog

काठमाडौँ, साउन २६ गते । रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म चल्दै आएको द्रुत बसले क्षमताभन्दा बढी यात्रु ओसारपसार गरिरहेको छ । ट्राफिक लाइटमा पनि रोक्न नपर्ने गरी एम्बुलेन्ससरहको सुविधा दिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहतको यातायात व्यवस्था विभागले संयोजन गरेका द्रुत बस क्षमताभन्दा बढी यात्रु लिएर गुड्छन् तर कारबाहीमा पर्दैनन् ।

यसलाई विभागले भने ‘सेवाप्रति यात्रुको आकर्षण’ बढेको भन्दै आएको छ । २०८० असोज ३ गतेदेखि सुरु भएको द्रुत बस सेवामा पछिल्लो समय क्षमताभन्दा बढी यात्रु यात्रा गर्न बाध्य छन् । ४० सिटको बसमा ५०/५५ जनाले यात्रा गरिरहेको यातायात व्यवस्था विभागले जनाएको छ । हाल सिट क्षमताभन्दा ३० प्रतिशत बढी यात्रु चढ्ने गरेका छन् । 

विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भन्नुभयो, “यो पाइलट परियोजना हो । यात्रुको आकर्षण बढेको छ भन्ने तथ्याङ्क हो, यसको अर्थ क्षमताभन्दा बढी यात्रु चढाउनु पर्छ भन्ने होइन । त्यसमा हामी सजग छौँ । अझै बस थपिएपछि र सेवा विस्तार गरेपछि यसको पनि समस्या समाधान हुन्छ ।”     

सुरुमा २५ वटा बस सञ्चालनमा ल्याइएको थियो । यात्रुको चाप बढेपछि छ महिनादेखि ४० वटा बस सञ्चालन गरिएको छ । सञ्चालनको छ महिनासम्म यात्रुको अभाव भएपछि सञ्चालनको तालिका परिवर्तन गरिएको थियो । हाल बिहान साढे ८ देखि ११ बजेसम्म र अपराह्न ३ देखि ६ बजेसम्म सञ्चालन गरिएको छ । 

विभागले बस सञ्चालन र यात्रुको तथ्याङ्क दैनिक रूपमा राख्ने गरेको छ । व्यवस्थित सञ्चालनका लागि एप सञ्चालनमा ल्याएको छ । जसबाट सहज सञ्चालन र सम्भावित ढिलाइ व्यवस्थापन गरिँदै आएको छ । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले भने सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने, चढाए कारबाही हुने जनाएको छ । बसमा ह्याङ्गर समाएर उभिएको खण्डमा भने कारबाही नगरिएको र ढोका खुला राखेर यात्रु कोचिएको खण्डमा कारबाही हुने प्रहरी प्रवक्ताको भनाइ छ । ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता विश्वराज खड्काले भन्नुभयो, “क्षमताभन्दा बढी चढाउन पाइँदैन, लोकल एरियामा ह्याङ्गरमा समाएर उभिएको खण्डमा कारबाही गरिएको छैन । द्रुत बसलाई हामीले अहिलेसम्म चेकजाँच गरेका छैनौँ । अब चेकिङ गर्न लगाउँछौँ ।”