• १२ असोज २०८१, शनिबार

बङ्गलादेशमा सद्भाव कायम हुने विश्वास

blog

काठमाडौँ, साउन २६ गते । नेपाली कांग्रेसले बङ्गलादेशमा जारी विरोध प्रदर्शनका क्रममा धार्मिक अल्पसङ्ख्यक हिन्दु, बौद्ध समुदायमाथि भएको आक्रमणप्रति चिन्ता व्यक्त गर्दै अन्तरिम सरकारले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्ने विश्वास व्यक्त गरेको छ । 

केन्द्रीय कार्यसमितिको बैठकपछि कांग्रेसले पार्टीका तर्फबाट बङ्गलादेशको अन्तरिम सरकारले सबै राजनीतिक पार्टी, नागरिक समाज र आन्दोलनकारी पक्षसँग परामर्श गरी निर्वाचनको मिति घोषणा गर्ने अपेक्षा व्यक्त गरिएको हो । 

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले भन्नुभयो, “घटना चिन्ताजनक भएकाले धार्मिक अल्पसङ्ख्यकका अधिकार संरक्षण गर्दै धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गरी शान्तिपूर्ण वातावरण सिर्जना गर्न सफल हुने विश्वास कांग्रेसले लिएको छ ।” उहाँले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पूर्ण बङ्गलादेशी नागरिक सहभागी भई निर्वाचन सम्पन्न हुने विश्वास कांग्रेसले लिएको बताउनुभयो ।  

उहाँले घनिष्ठ कूटनीतिक सम्बन्ध भएको मित्रराष्ट्र बङ्गलादेशमा विगत केही हप्तादेखि विकसित भइरहेका राजनीतिक घटनाक्रमलाई कांग्रेसले नजिकबाट नियालिरहेको बताउनुभयो । 

युनुसलाई बधाई

कांग्रेसले बङ्गलादेशको अन्तरिम सरकारका नवनियुक्त प्रमुख मोहम्मद युनुसलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । 

कांग्रेसले लोकतन्त्र र शान्तिप्रेमी बङ्गलादेशी नागरिकको चाहना र भावना अनुसार लोकतान्त्रिक र संवैधानिक प्रक्रिया अविलम्ब बहाल भई राजनीतिक सङ्क्रमण अन्त्य हुने विश्वास राखेको छ । बैठकमा प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू जिपछिरिङ लामा, पद्मनारायण चौधरी, डा. चन्द्रकान्त भण्डारी, सुरेन्द्रराज पाण्डे, मीनबहादुर विश्वकर्मा, किरण यादव, योगेन्द्र चौधरी, कृष्णकिशोर घिमिरे, गेहेन्द्र गिरी, तारामान गुरुङ, चन्द्रबहादुर केसी, डा. आरजु राणा देउवा, अब्दुल सत्तार, नैनसिंह महर, गोविन्दबहादुर शाह, महेन्द्रकुमारी लिम्बू, सरस्वती बजिमय, चम्पादेवी खड्का, प्रकाश रसाइली स्नेहीले बोल्नुभयो ।

त्यसै गरी केन्द्रीय सदस्यहरू मुक्ताकुमारी यादव, जावेदा खातुन जागा, हरिशरण नेपाली, मदनकृष्ण श्रेष्ठ, गङ्गालक्ष्मी अवाल, दिनेश कोइराला, राधा घले, धना खतिवडा, सीता थपलिया (उर्मिला), कल्याणी रिजाल, गोमाकुमारी भट्टराई र लक्ष्मी खतिवडाले बोल्नुभयो । साउन २३ गतेदेखि जारी बैठक आइतबार पुनः बस्ने छ ।