• १२ असोज २०८१, शनिबार

मन्त्री भण्डारीद्वारा विशाखापट्टनम पोर्टको अनुगमन

blog

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम पोर्टको अनुगमन गर्नुहुँदै । तस्बिर : रासस

काठमाडौँ, साउन २५ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम पोर्टको आज अनुगमन गर्नुभएको छ । उहाँले अनुगमनका क्रममा त्यहाँका आयात नियमन गर्ने पोर्टका आधिकारिक व्यक्ति र शिपिङ कम्पनीसँग अन्तरक्रियासमेत गर्नुभएको मन्त्रीको सचिवालयले जनाएको छ । 

त्यस अवसरमा मन्त्री भण्डारीले आयात तथा निर्यातकर्तासँग नेपाल आयात हुने वस्तु तथा सेवा र निर्यातका पक्षबारे छलफल गर्नुभएको थियो । उहाँलाई आयात तथा निर्यातकर्ताले नेपाल सरकारले गर्नुपर्ने आवश्यक सहायताका विषयमा ध्यानाकर्षण गराउनुभयो । मन्त्री भण्डारीले आयात तथा निर्यातमा नेपाल सरकारका तर्फबाट हुने आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै भारत सरकारसँग पनि आवश्यक सहयोगका लागि पहल गर्ने बताउनुभयो । 

मन्त्री भण्डारीले सो क्रममा नेपालको आयात तथा निर्यातमा सघाउन स्थानीय आयात तथा निर्यातकर्तासँग आग्रह गर्नुभयो । उहाँलाई पोर्टका कर्मचारीले नेपालको आयात निर्यातबारे जानकारी गराएका थिए । सो क्रममा मन्त्री भण्डारीलाई त्यहाँका प्रतिनिधिले व्यापारिक समस्याबारे जानकारी गराएको थियो । रासस