• १२ असोज २०८१, शनिबार

चाँगुनारायणसँगै विभिन्न मन्दिरमा नागपञ्चमी मेला

blog

तस्बिर : रासस

भक्तपुर, साउन २५ गते । नागपञ्चमीका अवसरमा विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरमा आज बिहानैदेखि मेला लागेको छ । नागपञ्चमीको दिन भव्य मेला लाग्ने यस मन्दिरमा आज दर्शनार्थीको बिहानैदेखि भीड लागेको पुजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिनुभयो । 

साउन शुक्ल पञ्चमीका दिन लाग्ने यस मेलामा चाँगुनारायणलाई गाईको दूध, घ्यु, दुबो तथा रायोको गेडा चढाउनाले घरखेतमा नागले दुःख नदिने, धनधान्य हुने धार्मिक विश्वास छ । स्थानीयले चाँगुनारायण मन्दिरबाट फर्किएर आआफ्नो घरको मूल ढोकामा गाईको गोबरले नागको तस्बीर टाँसी दुबो, रायोको गेडा र गाईको दूध चढाउने परम्परा छ । भक्तपुर नगरपालिकास्थित तिलमाधव नारायणको मन्दिर र वाखुपति नारायणको मन्दिरमा पनि मेला लागेको छ । 

यहाँका दुवै मन्दिरमा भक्तपुर, थिमि, काभ्रे, बनेपा, पनौतीलगायतका स्थानबाट दर्शनार्थी आएका छन् । नागपञ्चमीका दिन तिलमाधव नारायण र बाखुपति नारायणको पूजा गरी दर्शन गरेमा प'ण्य प्राप्त हुने, मनोकांक्षा पूरा हुने एवम् घरमा सर्पले दुःख नदिने जनविश्वास छ । यहाँका मन्दिरमा दिनभरि दर्शनार्थीको घुइँचो लागेको छ । भक्तपुरको नाग पोखरीमा नागको पूजागरी दूधको अभिषेक गरिएको छ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन यस पोखरीको बीचमा रहेको नागको मूर्तिमा दूधले अभिषेक गरी भव्य रुपमा पूजा गरेर स्थानीयले मेला भरेका छन् ।

स्थानीयले दूध, दही, अक्षता, फूल, दुबो अर्पण गरी पूजा गरेर मेला भरेका छन् । हिन्दु धर्मावलम्बीले आज घरको मूल ढोकामा नागको तस्बिर टाँसेर नागको पूजा गरिएको छ । यसरी घरको मूल ढोकामा नागको तस्बिर टाँस्दा घरमा नाग, बिच्छीलगायतका जीवको दुःख नहुने, प्रसन्न हुने र वर्षभरि विषालु जीव, आगो र चट्याङको भय नहुने विश्वास छ । रासस