• १२ असोज २०८१, शनिबार

कालीकोटमा स्याउ टिप्न सुरु

blog

फाइल तस्बिर ।

प्रेमराज सिम्खडा

कालीकोट साउन २५ गते । कालीकोट जिल्लामा स्याउ टिप्न सुरु भएको छ । साउनको तेस्रो साता लागेसँगै स्याउ टिपेर बिक्रि गर्न सुरु भएको हो । सबैभन्दा बढी स्याउ उत्पादन हुने जिल्लाको तिलागुफा नगरपालिका र रास्कोट नगरपालिकाका कृषकहरु स्याउ टिप्न व्यस्त छन् । 

तिलागुफा नगरपालिकाले साउन २० सम्म स्याउ टिप्न रोकेको थियो । हतारमा मूल्य धेरै पाउने आसमा किसानले छिटो स्याउ टिप्दा स्वाद हराउने र कालीकोटको स्याउको स्वाद छैन भनेर गुनासो आउने भएकाले नगरपालिकाले साउन २० अगाडी स्याउ नटिप्न सूचना गरेको थियो । नगरले स्याउ निकासीको पुर्जि नदिने भएपछि किसान पनि बाध्य भएर समय कुरेर बसेका थिए । 

तिलागुफा नगरपालिका ४ का पूर्व अध्यक्ष खड्कराज शाहीले समय नपुग्दै स्याउ टिप्ने बानी भएकाले आफ्नो पालादेखि समय निर्धारण गरिएको बताउनुभयो । उहाँले आफ्नो बगैजाको स्याउ पनि २३ गतेबाट टिप्ने सुरु गरेको बताउनुभयो । प्राय अलि अगाडी बगैचाबाट स्याउ टिपेर घरमा ल्याएर प्याक गरिसकेका थिए । नगरपालिकाले साउन २० गते निकासी खुला गरेको सूचना गर्ने बित्तिकै स्याउका पेटी सडकमा झारेर मुलुकका बिभिन्न शहरमा निकासी भएको बताउनुभयो । 

शाहीले आफ्नो बारीको स्याउ पनि टिप्न सुरु गरेको भन्दै केही दिनमा बिग्रीका लागि पठाउने बताउनुभयो । राँचुलीका कमल शाही कर्णालीले नगरपालिका भरी स्याउ टिप्न सुरु भएको बताउनुभयो । आफूले पनि टिपिरहेको छु । एक ट्रक त पठाए । बाँकी टिप्ने काम भइरहेको छ । आजभोली स्याउ टिप्ने कामले सबै किसान निकै व्यस्त छन् । अहिले ठेकेदारहरु स्याउ लिन बगैचामै आएका छन् । किसानले प्रतिकिलो स्याउको मूल्य ५० रुपियाँ किसाले पाइरहेका छन् । 

कृषक खड्कराज शाहीले वगैचामा ठेकेदारले ७५ रुपियाँ दिने भएपनि सडकसम्म ढुवानी गराउँदा किसानको हातमा रु ५० देखि ५५ सम्म पर्ने गरेको बताउनुभयो । सडक नजिक बगैँचा हुनेहरुलाई अलि ठिकै छ । टाढा भएका किसानलाई भने खासै स्याउको मुल्य नभएको शाहीको भनाइ छ । कालीकोटको रास्कोट नगरपालिकामा पनि स्याउ टिप्न सुरु भएको छ । 

अलि तल्लो क्षेत्रका स्याउ टिप्नेकाम भइरहेको छ । रास्कोट नगरपालिका २ का शान्ता कुमारी रोका मगरले आफ्नो गाउँ तिरको स्याउ बिग्री भईसकेका र लकाली क्षेत्रको स्याउ टिप्ने र भरिया लगाएर सबैले सडक सम्म बोकाउने काम भईरहेको बताउनुभयो । रास्कोट नगरपालिकाको स्याउ असोज सम्म पनि बगैँचामा रहने भएकाले किसान हतारिएका छैनन् । बगैचामा जो ठेकेदार जान्छन् उनीहरुले टिप्न लगाएका छन् । कतिपय ठाउँमा भने टिप्न सुरु नभएको बताउनुभयो ।