• १२ असोज २०८१, शनिबार

बेनीघाट-आर्खेत सडक एकतर्फी सञ्चालनमा

blog

गुणबहादुर रोका

सुलीकोट, साउन २५ गते । गोरखामा अविरल वर्षाका कारण बेनीघाट–आर्खेत सडक खण्ड २४ घण्टापछि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । बुधबारदेखि परेको अविरल वर्षाका कारण बेनीघाट–आर्खेत सडक खण्डको गण्डकी गाउँपालिका-५ दुर्बङको लक्ष्मिचोकमा शुक्रबार बिहान ११ बजे पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो ।

झण्डै सय मिटर माथिबाट खसेको पहिरोले सडक खण्डहरुमा ढुंगा, माटो र ठुला रुखहरुलाई पन्छाउन गण्डकी गाउँपालिकाले जेसिबी प्रयोग गरी २४ घण्टापछि सडक एकतर्फी सञ्चालनमा आएको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमेल्सेना साकारले जानकारी दिनुभयो । उहाँका अनुसार यस सडक बेनीघाटबाट गोरखाको उत्तरी क्षेत्र चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका, आरुघाट गाउँपालिका र भिमसेन थापा गाउँपालिका जाने मुख्य सडक भएकाले पनि अवरुद्ध भएको केहि समयमै सडक सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । 

गण्डकी गाउँपालिकाको जेसिबी प्रयोग गरी पहिरो पन्छाउने काम निरन्तर रुपमा चलिरहेकाले अहिलेसम्म दुईतर्फ सञ्चालनमा ल्याउन कठिन भएको गाउँपालिकाले जनाएको छ। एक सय मिटर माथिबाट आएको पहिरोले गर्दा एउटा जेसिबी नै त्यहि राखेर सडक सफा गरिरहेको वडा नम्बर ५ का वडा अध्यक्ष पबनमान बयलकोटीले जानकारी दिनुभयो । 

सडक एकतर्फी रुपमा सुचारु भएपछि बेनीघाटदेखि आर्खेत सम्म आवतजावत गर्ने यात्रुबाहक सबारी साधन सुचारु हुन थालेका गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटीले बताउनुभयो । 

बुधबारदेखि परेको अविरल वर्षाका कारण गण्डकी गाउँपालिका ग्रामिण इलाकमा पर्ने भएकाले पनि अत्वश्यक बाहेक अन्य काममा यात्रा नगर्न गण्डकी गाउँपालिकाले अपिल गरेको गाउँपालिकाका अध्यक्ष तिमेल्सनाको भनाइ छ । सय मिटरबाट माथिबाट आएको पहिरोलाई पुर्ण रुपमा पन्छाई दुईतर्फी रुपमा सञ्चालनमा ल्याउन अझै केहि समय लाग्ने गाउँपालिकाले जनाएको छ ।