• १२ असोज २०८१, शनिबार

पढ्दै तरकारी उत्पादन गर्दै कृष्ण भवन धर्म माविका विद्यार्थी

blog

विद्यालयमा लगाएको सिमी टिप्दै विद्यार्थी र शिक्षकहरू । तस्विरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी,साउन २५ गते । जलजला गाउँपालिका ७ धाइरिङ स्थित कृष्ण भवन धर्म माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई पढाइका साथै कृषि ज्ञान र सीप पनि दिन थालिएको छ । किताबी पढाइमा सीमित बनेका यहाँका विद्यार्थीले कृषिको प्रयोगात्मक र व्यावहारिक शिक्षा लिन थालेका हुन् । विद्यार्थीहरूले विद्यालयमा सिकेको ज्ञान र सीपलाई घरमा समेत प्रयोग गर्न थालेका छन् । 

सैद्धान्तिक पढाइका साथै विद्यार्थीहरूलाई कृषि सम्बन्धी व्यवहारिक सीप र ज्ञान प्रदान गर्न विद्यालयले प्लास्टिक टनेल भाडामा लिएर तरकारी उत्पादन गरेको विद्यालयका प्रधानाध्यापक  बालकृष्ण ज्ञवालीले बताउनुभयो । 

विद्यार्थीलाई श्रमको सम्मान तथा मेहनत गर्न सिकाउने र माटोसँग परिचित गराई कृषि उत्पादन सँग जोड्ने उद्देश्यले विद्यालयले कृषि सम्बन्धी प्रयोगात्मक सिकाइलाई जोड दिएको उहाँको भनाई छ ।  

 कृषि खेतीका बारेमा ज्ञान र सीप आर्जनका लागि विद्यालयमा अध्ययन गर्ने  ११ जना विद्यार्थीहरूले उद्यम क्लब गठन गरेका छन् । क्लबमा आबद्ध भएका सहित ९ देखि १२ कक्षा सम्म अध्ययन गर्ने करिब ५० देखि ६० विद्यार्थीहरू नियमित रूपमा तरकारी उत्पादनमा सक्रिय भएको उहाँले बताउनुभयो ।  

प्लास्टिकको घर भित्र यतिखेर लटरम्म सिमी फलेका छन् विद्यालयका प्रअ ज्ञवालीले भन्नुभयो, ‘‘ सिमी फलेपछि विद्यार्थीहरू खुसी भएका छन् । कृषि सम्बन्धी ज्ञान र सीप सिक्न विद्यार्थीहरूले चासो देखाउने गरेका छन् । तरकारीवारिमा काम गर्ने भनेपछि उत्साहित हुँदै पुग्ने गर्दछन् । विद्यार्थी सँगै शिक्षक पनि पुगेर विद्यार्थीलाई सिकाउने गर्नुहुन्छ ।’’ यसले कृषि खेती तर्फ विद्यार्थीहरूलाई उत्प्रेरित गरेको उहाँ बताउनुहुन्छ । 

विद्यार्थीहरूलाई पढाइका साथै कृषि सम्बन्धी व्यवहारिक ज्ञान र सीप प्रदान गर्न प्रभावकारी देखिएको उहाँले बताउनुभयो । विद्यार्थीहरूले उत्पादन गरेको तरकारी बिक्री गरेको रकम विद्यालय मातहत रहेको उद्यम कोषमा जम्मा गरिने प्रअ ज्ञवालीको भनाई छ । विद्यालयबाट विद्यार्थीलाई आवश्यक पर्ने कृषि औजारदेखि बिउ बिजन सबै उपलब्ध गराउने गरिएको छ । 

प्रयोगात्मक अभ्यासबाट विद्यार्थीमा सीप विकास गर्नु हाम्रो उद्देश्य हो विद्यालयका शिक्षक रोहित आचार्यले भन्नुभयो, “यसबाट व्यावहारिक सिकाइ हासिल हुन्छ । विद्यार्थीहरूलाई कृषि पेसाप्रति सकारात्मक विचारको विकास गराउन सहयोग पुग्छ ।” 

कृषि खेतीको सीप सिक्न पाउँदा विद्यार्थी पनि खुसी छन् । विद्यालयमा आर्जन गरेको ज्ञान, सीपलाई उनीहरूले घरमा प्रयाग गर्न थालेको शिक्षक आचार्यले बताउनुभयो । 

सिजन अनुसार आलु,गोलभेँडा,बोडी र सिमी जस्ता तरकारी बाली लगाउने गरिएको उहाँको भनाई छ । तरकारी लगाउनेदेखि पानी हाल्ने, गोडमेल, रेखदेख गर्ने आदि सबै काम विद्यार्थी आफैले गर्दछन् । 

कक्षा १२ मा अध्ययन गर्ने आरती आचार्यले भन्नुभयो, “हाम्रो मुख्य पेसा पनि कृषि हो । विद्यालयमा पढाइका साथै कृषि सम्बन्धी ज्ञान र सीप सिक्न पाउँदा खुसी छौँ । विद्यालयमा सिकेको सीपलाई घरमा पनि लागू गरेका छौँ ।’’