राधाकृष्ण डुम्रे
वालिङ, साउन २५ गते । पहिरोमा अभिभावक गुमाएर एक्लो बनेका स्याङ्जाको बिरुवा गाउँपालिका–६ का रोशन शर्मा विद्यालय भर्ना हुनुभएको छ । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङले रोशनलाई विद्यालयमा भर्ना गराउनुभएको हो ।
गएको असार २६ गते गएको पहिरोमा परेर रोशनको परिवारका सबै सदस्यको मृत्यु भएको थियो । पहिरोको अवलोकन गर्न गाउँ पुग्नुभएका नेता गुरुङले बालकलाई आफूले पढाउने जिम्मा लिनुभएको हो । स्याङ्जाको बिरुवा गाउँपालिकामा असार २६ गते आएको भीषण पहिरोमा परेर अभिभावकका रूपमा रहनुभएकी हजुर आमा गुञ्जेश्वरी शर्माको निधन भएको थियो । हजुरआमाको मृत्युपछि रोशन जेठा हजुरबुवाको घरमा बस्दै आउनुभएको थियो । आफन्तसँगको छलफल र रोशनको पनि चाहनाबमोजिम पूर्वमन्त्री गुरुङले साथ लिएर फर्केको जानकारी दिनुभयो ।
नेपाली कांग्रेस बिरुवा गाउँपालिकाका सभापति डोलराज पोखरेलले जन्मदिने आमाले अर्को बिहे गरेको र बुवा सुस्त मनस्थिति भएका कारण रोशन हजुरआमा गुञ्जेश्वरी शर्मासँग बस्नुहुन्थ्यो । उहाँहरू बस्दै आएको घरमा खोला र पहिरोको जोखिम बढेपछि केही पर अरूको घरमा बस्न गएका बेला घरमाथिबाट पनि पहिरो झरेपछि घर भत्किएर हजुरआमाको मृत्यु भएको थियो ।
साथीहरूसँग खेल्न गएका बेला पहिरो झरेका कारण रोशन सुरक्षित रहन सफल हुनुभयो । सोही दिन बिरुवा गाउँपालिका–६, स्याङ्दीका माधव शर्मा, हरिमाया शर्मा र गुञ्जेश्वरी शर्मा मरासिनीको एकैघरभित्र पुरिएर मृत्यु भयो । पहिरो गएलगत्तै स्थलगत अवलोकनमा पुग्नुभएका नेता गुरुङले बच्चालाई एक्लै हुन नदिने प्रतिबद्धता जनाउँदै बच्चाको सारा जिम्मेवारी लिने प्रतिबद्धता जनाउनुभएको थियो । सोही प्रतिबद्धता अनुरूप रोशनलाई ललितपुरको वज्र एकेडेमीमा १२ कक्षासम्म पढाउने गरी भर्ना गरिदिनुभएको बताइएको छ ।
त्यस्तै सोही पहिरोबाट परिवारविहीन बन्नुभएका सोही ठाउँकै गोपिन्द शर्मा मरासिनीलाई पनि स्नातक तह निःशुल्क पढ्ने गरी पोखरामा भर्ना गरिएको नेपाली कांग्रेस बिरुवाका सभापति पोख्रेलले बताउनुभयो । बाढी र पहिरोमा परेर साउनको तेस्रो हप्तासम्म स्याङ्जामा १४ जनाको मृत्यु र सात घाइते भएका छन् । भिरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला गाउँपालिकाका केही बस्ती जोखिममा छन् ।