• १२ असोज २०८१, शनिबार

बस्ती जोगाइदिन सरकारसँग माग

blog

बस्ती जोगाउन माग गर्दै स्थानीयहरु ।

सिराज खान

नेपालगन्ज, साउन २५ गते ।  राप्ती नदीको डुबान तथा बाढी प्रभावितहरूले बस्ती जोगाइदिन सरकारसँग माग गरेका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका–७, खल्ला झगडिया र सोवरिपरिको गाउँबस्ती डुबान र बाढीको उच्च जोखिममा छन् । 

खल्ला झगडियामा तटबन्ध निर्माण गरी सो क्षेत्रका गाउँबस्ती जोगाइदिन माग गर्दै स्थानीयले नदीले कटान गरिरहेको स्थानमै बसेर सरकारको ध्यानाकर्षण गराएका छन् । स्थानीय अरुण यादवले वर्षा सुरु भएकाले नदीले कटान तीव्र पारेको हुँदा गाउँबस्ती अति नै जोखिममा परेको बताउनुभयो । सो अवस्थाका बारेमा सरकारलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको गुनासो उहाँको छ । 

अर्का स्थानीयवासी शङ्कर यादवले विगतमा बाढी रोकथामका लागि लगाइएको तटबन्ध भत्किएर राप्ती नदी अब कटान गर्दै गाउँतिर सोझिएको जानकारी दिनुभयो । 

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले ६० हजार जनता प्रत्यक्ष जोखिममा पर्दा कुनै सुनुवाइ नहुनु आश्चर्यको विषय भएको बताउनुभयो । सो कटान र डुबान क्षेत्रको स्थलगत अवलोकन गरेका प्रतिनिधि सभा सदस्य सूर्य ढकालले नदीप्रभावित राप्तीसोनारी र नरैनापुरवासीको गुनासो जायज भएको बताउनुभयो ।

खल्लाझगडियामा राप्ती नदीले तीव्र रूपमा कटान गरिरहेकाले कुनै पनि बेला ठुलो विपत्ति निम्त्याउन सक्ने अवस्थालाई दृष्टिगत गरी तत्काल राज्यका निकायको ध्यानाकर्षण हुनुपर्ने मानवअधिकारवादीको भनाइ छ । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का लुम्बिनी प्रदेश संयोजक भोला महतले खेतीयोग्य जमिन कटान गर्दै नदी बस्तीमै प्रवेश गर्ने अवस्था आइसकेकाले अप्रिय घटना हुनुभन्दा पहिल्यै सतर्कता आवश्यक भएको बताउनुभयो । नदीमा तटबन्ध निर्माण नभएका कारण राप्तीसोनारी–६ र ७ का सर्रा, भवानियापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायतका गाउँ र नरैनापुर गाउँपालिकाका गङ्गापुर, सोनवर्षा, कुदर–वेटवा, कुडुवालगायतका बस्ती उच्च जोखिममा छन् ।